सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुला प्रशासनमा गाउँपालिका अध्यक्षविरूद्ध उपाध्यक्षको उजुरी, भन्छिन-‘अब अख्तियार जान्छु’

२०७७ जेठ ५, ०६:१० खबर संवाददाता

धनगढी : दार्चुलाको मालिकार्जुन गाउँपालिका अध्यक्षविरुद सोही स्थानीय तहकी उपाध्यक्षले जिल्ला प्रशासनमा उजुरी दिएकी छन्। अध्यक्ष नरेन्द्रसिंह धामीले आर्थिक अनियमितता, ढिलासुस्ती र चरम लापरबाही गरेको, एकपक्षीय ढंगले चलेको र समन्वय गर्न खोज्दा वास्ता नगरेको आरोप लगाउँदै उपाध्यक्ष पुष्पा अवस्थीले उजुरी दिएकी हुन।

  उपाध्यक्ष अवस्थीले अध्यक्ष धामीलाई राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको बेला राष्ट्रपतिको भ्रमणका लागि विनियोजन गरिएको रकमभन्दा दोब्बरका बिलहरू बनाएको, कोरोना भाइरसको नियन्त्रणका क्रममा करिब साठी लाख भन्दाबढी रकमको खर्च गरिएको बिलहरू  सन्तोषजनक नभएको आरोप लगाएकी छन्।  

साथै उपाध्यक्ष अवस्थीले क्वारेन्टाइनको नाममा अनियमितता गरेको, काम नगरेको समयमा पनि काम गरेको भनि भत्ता लिएको, जिल्लाबाहिर  कोरोनाको समयमा लकडाउनको कारण अलपत्रमा रहेका विद्यार्थी, मजदुर, विपन्न नागरिकहरूको लागि घर फर्काउन पहल नगरेको, विदेशमा अलपत्र नागरिकको तथ्यांक समेत संकलन नगरेको जस्तो व्यहोरा उजुरीमा उल्लेख गरेकी छन्।

साथै अध्यक्ष धामीले आफ्ना नजिकका व्यक्तिलाई राहत वितरण गरेको,  राहत वितरणमा  समेत अनियमितता गरेको,  गाउँपालिकाले भाडामा लिएको गाडीकोसम्झौता म्याद नसकिँदै  एकपक्षीय ढंगले खारेज गरेर कार्यालयबाट गरिने योजना अनुगमन समेत प्रभावित पारेको आरोप उपाध्यक्ष पुष्पा अवस्थीले लगाएकी छन्। 

त्यस्तै उपाध्यक्ष अवस्थीले आफ्नो आफ्नो उजुरी बारेमा तिन दिनभित्र छलफलका लागि पहल नगरेमा अध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत र लेखापालको कार्यकक्षमा तालाबन्दीगरी सम्बन्धित निकायबाट  छानबिन गराउने चेतावनी समेत उजुरीमार्फत दिएकी छन्। 

उनले अध्यक्ष नरेन्द्रसिंह धामीसँग विगत ६/७ महिना देखि द्वन्द चलिरहेको बताइन। ‘अब त अति भयो, दैनिक तनाव भइरहेको छ। म भोलीपर्सी नै अख्तियारमा जान्छु, त्यहाँ पनि उजुरी हाल्ने तयारीमा छु’ उनले भनीन। 

कमेन्ट लोड गर्नुस