सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेतीलाई कोरोना विशेष अस्पताल तोकिएपछि अन्य विरामी प्रभावित

२०७७ जेठ ५, ११:३२ भुवन भट्ट

धनगढी : सुदूरपश्चिमकै रेफरल सेती प्रादेशिक अस्पताललाई कोरोना विशेष अस्पताल तोकिएपछि अन्य विरामीहरु प्रभावित भएका छन्। सेतीलाई प्रदेश सरकारले कोरोना विशेष अस्पताल तोकेपछि अन्य विरामी त्रासका कारण अस्पतालमा सेवा लिन जान छाडेका हुन्।

विशेषज्ञ उपचार सेवा भएको सेतीमै कोरोना भाईरसका संक्रमित तथा सम्भावित विरामीको उपचार गरिन थालेपछि अन्य विरामीहरु बरु चर्को शुल्क तिरेरै भएपनि निजी अस्पताल धाउन थालेका छन्। गत मंगलबारदेखि अस्पतालले बहिरंग (ओपिडी) लगायतका अन्य सेवा सञ्चालनमा ल्याएको भएपनि त्रासकै कारण विरामीहरुको भीडभाड छैन्।

विगतमा भने सेती प्रादेशीक अस्पतालमा दैनिक साढे ३ देखि चार सय जनाले उपचार सेवा लिने गरेका थिए। कोरोना विशेष अस्पताल तोकिएपछि भने केही समय अस्पतालमा आकस्मिक बाहेकका सेवा समेत बन्द भएका थिए। अहिले दैनिक सयको हाराहारीमा ओपिडी सेवा लिने गरेको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए।

ओपीडी सेवा सुचारु भएपछि भने दीर्घरोगी तथा नियमित चेकजाँच गर्नैपर्ने विरामीलाई भने सहज भएको उनले बताए। तर कोरोना विशेष अस्पताल तोकिएपछि विरामीको चाप घट्दो क्रममा नै रहेकोे उनले बताए।  उता कञ्चनपुरको महाकाली अस्पताललाई भने विरामीको चाप व्यवस्थापन गर्न हम्मे हम्मे परेको छ।

ओपीडी सेवा सञ्चालन भएदेखि दैनिक सय बढीले सेवा लिईरहेको अस्पतालले जनाएको छ। भौतिक दुरी कायम गरेर सेवा प्रदान गरेपनि जोखिमकाबीच व्यवस्थापनमा केही जटिलता भएको महाकाली अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डाक्टर हरी कुमार श्रेष्ठले बताए।

उनले अहिले दैनिक एक सय १५ बढी विरामीले सेवा लिने गरेका बताए। तर अस्पतालहरुमा बढेको भीडभाडले कोरोनाको जोखिम बढ्ने भन्दै चिन्ता व्यक्त गरिएको छ।  
 

भुवन भट्ट, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस