सुदूर नेपाललाई विश्वसँग जोड्दै

महाकालीमा नदीमा एक महिला बेपत्ता

२०७७ जेठ ४, ०३:३६

दार्चुला : महाकाली नदीमा हाम फालेर दार्चुलामा एक महिला बेपत्ता भएका छन्। आइतबार मध्याह्न महाकाली नगरपालिका–७ धाप थालीगाडमा ३१ वर्षीया कुश्मा थापा नदीमा हामफालेर बेपत्ता भएकी छन्। हामफालेको छेउमा मोबाइल मात्रै भेटिएको छ। महिलाको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी सुरेन्द्रप्रसाद जोशीले जानकारी दिए। हामफालेको कारण भने खुल्न सकेको छैन।

हामफालेको खबरलगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरी महाकाली नदीमा महिला खोज्न जुटेपनि भेट्टाउन नसकिएको जोशीले बताए। थापाको खोजीकार्य गर्न प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेल, जिल्ला प्रहरी प्रमुख पदमबहादुर विष्ट, सशस्त्र प्रहरी बल नेपाल नं ५० गुल्म हेडक्वाटर दार्चुलाका गुल्मपति डम्बरबहादुर विष्टलगायतको टोलीसमेत खटिएको थियो।

यस्तै दत्तु, जौलजीविबाट लालीसम्मका नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई समेत नदी किनारमा परिचालन गरिएको भए पनि महिला फेला पार्न सकिएको छैन। जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार बन्दाबन्दीको समयमा जिल्लामा नदीमा बगेर मृत्यु भएको यो दोस्रो घटना हो। बन्दाबन्दीको समयमा जिल्लामा दुई दर्जन विभिन्न प्रकृतिका घटना घटेका छन्। रासस
 

कमेन्ट लोड गर्नुस