सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा आइपुगेन किट, कोरोना परीक्षण रोकियो

२०७७ जेठ ४, ०३:०७

विमल विष्ट, डोटी : कोरोना भाइरस परीक्षण गर्ने किट नआइपुगेका कारण जिल्लामा एक हप्तादेखि कोरोना परीक्षणको काम रोकिएको छ। जिल्ला स्वास्थ्य कार्यालयले यहाँका विभिन्न स्वास्थ्य संस्थाको सहयोगमा कोरोनाको परीक्षणका लागि गाउँगाउँमा आरडिटी परीक्षण सञ्चालन गर्दै आएको थियो। किट सकिएसँगै उक्त परीक्षण रोकिएको हो। 

किट नआएका कारण भारतबाट आएका दुई हजार ४४४ जनाको परीक्षण हुन सकेको छैन। गत चैत १ गतेदेखि भारतबाट आएका जिल्लाका कूल चार हजार ५०० मध्ये एक हजार ७१९ जनाको आरडिटी परीक्षण गरिएको थियो। जसमा ३३७ को पिसिआर परीक्षण गरिएको थियो । किट अहिलेसम्म नआउँदा जिल्लामा कोरोना परीक्षणको काम पूर्णरुपमा बन्द भएको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ। 

किट नआएका कारण भारतबाट आएकामध्ये बाँकी रहेका नागरिकको कोरोना परीक्षण हुन नसकेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश मलासीले बताए। उनले भने, “किट सकिएको जानकारी हामीले एकहप्ता पहिलेदेखि गरेका थियौँ, अहिलेसम्म पठाएको छैन, किट नहुँदा परीक्षणको सबै काम रोकिएको छ।” 

पिसिआर विधिबाट गरिने कोरोना परीक्षणका लागि किट सकिएपछि शङ्कास्पद बिरामीको कोरोना परीक्षणसमेत रोकिएको उनले जानकारी दिए। सुदूरपश्चिम प्रदेश सरकारले यहाँको पहाडी जिल्ला बैतडी र डोटीमा समेत पिसिआर मेशिनमार्फत कोरोना जाँच गर्ने निर्णय गरेको भए पनि आवश्यक सामग्री तथा किट नहुँदा हालसम्म पनि सञ्चालन हुन सकेको छैन। पहाडी जिल्लामा सञ्चालन नहुँदा अहिले कैलाली जिल्लामा मात्रै पिसिआर प्रविधिबाट कोरोना परीक्षण हुँदै आएको छ। 

कोरोना परीक्षण गर्ने किट नभएका कारण भारतबाट आएका स्थानीयवासीको रोगको अवस्थाका बारेमा अहिलेसम्म यकिन बुझ्न नसकिएको स्वास्थ्यकर्मी बताउँछन्। जिल्लामा हप्ता दिनदेखि किट अभावमा सङ्क्रमितको सम्पर्कमा आएका अन्य व्यक्तिको स्वास्थ्य परीक्षणसमेत हुनसकेको छैन। भारतबाट आएका व्यक्तिलाई स्थानीय तहले निर्माण गरेका क्वारेन्टाइनमा २१ दिन राखेर घर पठाए पनि किट अभावमा उनीहरुको सम्पर्कमा आएका अन्य व्यक्तिमा समेत कोरोना परीक्षण हुन नसकेको स्थानीयवासी बताउँछन्। 

सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लामा गरी पिसिआर र आरडिटीबाट हालसम्म १७ हजार ५२४ को कोरोना परीक्षण गरिएको छ। सुदूरपश्चिमका नौवटै जिल्लाका स्थानीय तहले सञ्चालनमा ल्याएका ३९१ क्वारेन्टाइनमा अहिलेसम्म तीन हजार ३७४ जना राखिएको निर्देशनालयले जनाएको छ। 

सुदूरपश्चिमभरि हालसम्म दुई हजार ९२३ जनाको परीक्षणका लागि स्वाब सङ्कलन गरिएको छ। जसमध्ये पाँचजनाको पोजेटिभ र बाँकी अन्य सबैको नतिजा नेगेटिभ आएको छ। सङ्क्रमित पाँचमध्ये चार निको भएर घर फर्किसकेपछि सुदूरपश्चिम कोरोना मुक्त भएको क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायल राजपुरले जनाएको छ। 

जिल्लामा आरडिटी किटका लागि सुदूरपश्चिम प्रदेश सरकारसँग माग गरिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख मलासीले बताए। उनले भने, “प्रदेश सरकारसँग किट माग गरेका छौँ, किट आएपछि सम्पूर्ण सेवा सञ्चालन गर्नेछौँ।” कोरोना भाइरस रोकथाम तथा नियन्त्रण योजनाअन्तर्गत जिल्ला संयन्त्रको बैठकले भारतबाट फर्केका नागरिकको आरडिटी गर्ने निर्णय गरेको भए पनि किट अभावमा सो निर्णय कार्यान्वयनमा समस्या भएको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ।  –रासस 

कमेन्ट लोड गर्नुस