सुदूर नेपाललाई विश्वसँग जोड्दै

मास्क लगाएर कडा खालको व्याम गर्दा फोक्सो र मुटुमा समस्या हुने

२०७७ जेठ ४, ०८:५८ खबर संवाददाता

धनगढी : विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरसको संक्रमणबाट जोगिन मास्कको प्रयोग बढ्दो छ। संक्रमण फैलिन नदिन र जोखिमबाट बच्न मास्क अनिवार्य गरिएको भएपनि उचित ढंगले प्रयोग गर्न नजान्दा स्वास्थ्यमा गम्भीर समस्या हुनसक्ने बताईएको छ।

चिकित्सकहरुले खासगरी मास्क लगाएर कडा खालको व्याम नगर्न सुझाव दिएका छन्। सेती प्रादेशिक अस्पतालका फिजिसियन डाक्टर शेरबहादुर कमरले मास्क लगाएर कडा खालको व्याम गर्दा शरिरमा अक्सिजनको मात्रा कम हुने भएकाले शरिरका विभिन्न अंगहरुमा दबाब पर्ने बताए।

उनले बाक्लो खालको मास्कको प्रयोग गरी कडा खालको व्याम गर्दा अक्सिजनको मात्रा कम भई फोक्सो तथा मुटु लगायतका अंगहरुमा समस्या हुने बताउँदै सबैलाई मास्कको प्रयोग नगर्न सुझाव दिए। यस्तै मर्निङ वाक गर्दा पनि सकभर मास्कको प्रयोग नगर्न चिकित्सकहरुको सुझाव छ।

मास्क लगाएर दौडिदा श्वासप्रश्वासमा समस्या आएर मृत्यु समेत हुनसक्ने भएकाले सचेत रहन आग्रह गरिएको हो। फिजिसियन डाक्टर कमरले पटक पटक एउटै मास्कको प्रयोगले पनि जोखिम हुनसक्ने बताए।

उनले मास्क लगाएर बजारमा हिडडुल गर्ने फेरी घरमा ल्याएर थन्क्याउदै त्यसैलाई प्रयोग गर्दा संक्रमणको जोखिम हुनसक्ने भएकाले सचेत रहन आग्रह गरे। 
 

कमेन्ट लोड गर्नुस