सुदूर नेपाललाई विश्वसँग जोड्दै

नीति तथा कार्यक्रम : खेलकूद पूर्वाधार निर्माणमा जोड

फाईल फोटो
फाईल फोटो
२०७७ जेठ २, १०:५१

सरकारले आगामी आर्थिक वर्ष २०७७÷७८ मा खेलकूद पूर्वाधार निर्माण कार्यमा जोड दिने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले आज प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रिय, प्रादेशिक तथा स्थानीय तहमा खेलकूद पूर्वाधार निर्माण र स्तरोन्नति गर्ने कार्यलाई निरन्तरता दिइने बताईन्। 

नेपालमा गत वर्ष मङ्सिरमा सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) सम्पन्न भएको थियो। सागमा नेपालले हालसम्मकै बढी ५१ स्वर्ण, ६० रजत तथा ९५ कास्य पदक प्राप्त गरेको थियो। उक्त प्रदर्शनलाई कायमै राख्दै अन्तर्राष्ट्रिय, राष्ट्रिय र क्षेत्रीय प्रतियोगितामा सहभागी गराई बढीभन्दा बढी पदक प्राप्त गर्न सक्ने गरी खेलाडीको क्षमता विकास गरिने आगामी आवको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। 

तीनवटै तहमा सुविधासम्पन्न खेलकूद पूर्वाधारको निर्माण र स्तरोन्नतिलाई निरन्तरता दिइनेछ। यस्तै उच्च पर्वतीय खेलकूद तालीम केन्द्र स्थापना गर्ने कार्य अघि बढाइने नीति तथा कार्यक्रममा उल्लेख छ। सरकारले आगामी आवमा निजी क्षेत्रबाट पहल गरिएका खेलकूद पूर्वाधार निर्माणलाई प्रोत्साहन गर्ने नीति अघि सारेको छ। गत आवमा युवा तथा खेलकूद मन्त्रालयका लागि रु तीन अर्ब ९९ करोड बजेट छुट्याएको थियो।–रासस
 

कमेन्ट लोड गर्नुस