डोटीमा विकास निर्माणका काम पुनः शुरु
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले मुलुकभर लागू गरेको लकडाउनका कारण बन्द रहेका सुदूरपश्चिमका दर्जनौँ विकास परियोजना पुःन सञ्चालनमा आएका छन्। यहाँका आयोजनास्थलमा रहेका कामदारबाट काम शुरु गरिएको हो। सुदूरपश्चिमका विभिन्न जिल्लासहित डोटीमा अहिले जत, सडक तथा विमानस्थल निर्माणको काम सञ्चालन भएको जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ।
सरकारले मुलुकभर लकडाउन गरे पनि डोटीलगायत समग्र सुदूरपश्चिम प्रदेशमा निर्माणाधीन विकास निर्माणकामा उच्च सतर्कता अपनाउँदै निर्माणकार्यलाई निरन्तरता दिएको हो । यहाँका विकास निर्माण भइरहेका आयोजनाका ठेकेदारले बाहिरी आवतजावतलाई रोक लगाउँदै कामदारलाई काममा लगाएका हुन्। यहाँका विकासका केही ठूला आयोजना खुलेपछि स्थानीयवासीमा खुशीयाली छाएको छ।
लकडाउनले शुरुका केही दिन समस्या आए पनि अहिले सरकारी निकायले समेत सहयोग गरेकाले निर्माणकार्यलाई निरन्तरता दिइएको विभिन्न विकास निर्माणमा काम गर्दै आएका निर्माण कम्पनीले जानकारी दिएका छन्। सरकारले निर्माणकार्यलाई प्राथमिकतामा राख्न निर्देशन दिएपछि गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालयले समेत सहयोग गरेपछि रोकिएका विकास निर्माणको कामलाई अगाडि बढाएको सडक डिभिजन कार्यालय कुल्पाते दिपायलले जनाएको छ।
सबै आयोजनालाई निर्माण सामग्रीको अभाव हुन नदिने गरी समन्वय गरी कामलाई तीव्रता दिन निर्देशन दिइएको डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताए। उनले भने, “कोरोनाबाट बच्न सजगता अपनाउँदै विकास निर्माणकार्यलाइ निरतरता दिन थालेका छौँ, निर्माण सामग्री सहज उपलब्ध भए तोकिएको समयमै यहाँका योजना सम्पन्न हुनेछन्।”
यसै सिलसिलामा कोरोना भाइरसका कारण केही समय रोकिएको सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड जोड्ने सिलगढी–झिग्राना र राजपुर हुँदै केआइसिंहको बगरसम्म कालोपत्र गर्ने सडक निर्माणकार्य पुनः सञ्चालन भएको छ। जिल्लामा कोरोना सङ्क्रमित नभेटिएपछि अहिले कामदारले ती सडकको काम तीव्रगतिमा अगाडि बढाइरहेका छन्।
सुदूरपश्चिम प्रदेश सरकारले कालोपत्रका लागि बजेट विनियोजन गरेसँगै शुरु गरिएको उक्त सडकको काम कोरोनाको कहरका कारण केही समय रोकिएको थियो। ठेकेदार कम्पनीले काम सञ्चालन गर्न अनुमति पाएसँगै अहिले सिलगढीदेखि ओखरबोट हुँदै ओसाइल–बगलेक–झिग्राना र बगर जोड्ने सडकको निर्माण तथा कालोपत्रको काम तीव्रगतिमा भइरहेको केआइसिंह–५ का स्थानीय दीर्घबहादुर राणाले बताए।
सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड जोड्ने पर्यटकीय सडक सिलगढीबाट सबैभन्दा छोटो दूरीमा पर्दछ। प्रदेशको प्रमुख पर्यटकीयस्थल खप्तड जोड्ने सिलगढी– झिग्राना सडकमा १५.६ किलोमिटर कालोपत्र गर्न ४० करोड ठेक्का सम्झौता भएको उक्त सडक अहिले निर्माणकार्य तीव्रगतिमा अगाडि बढिरहेको उक्त सडक हेर्ने जिम्मा पाएको पूर्वाधार विकास कार्यालय डडेल्धुराका कार्यालय प्रमुख रामचन्द्र खत्रीले बताए।
उनले भने, “कोरोनाको त्रासका कारण कालोपत्रको काम रोकिएको थियो, अहिले काम सञ्चालन गर्न अनुमति मिलेपछि तीव्रगतिमा काम भइरहेको छ।” खप्तडक जोड्ने उक्त सिलगढी–झिग्राना सडक चन्द्र एण्ड वसन्त कन्स्ट्रक्शन र सिलगढी–मेल्लेक सकडको राजेन्द्र तथा पिएस जेभीले काम गरिरहेका छन्।
प्रदेशको प्रमुख पर्यटकीयस्थलका रुपमा रहेको खप्तड जाने सडक कालोपत्र गर्ने काम पुनः सञ्चालन भएपछि स्थानीयवासीमा खुशीयाली छाएको छ। खप्तड जाने सडक कालोपत्र भएपछि यहाँ आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन निकै सहज हुने होटल व्यवसायी सङ्घका अध्यक्ष राजेन्द्रबहादुर शाहीले बताए। उनले भने, “कोरोनाको कहरका कारण कालोपत्रको काम रोकिएको थियो, अहिले पुनः सञ्चालन भएको छ, काम सम्पन्न भए पर्यटक भित्र्याउन निकै सहज हुने छ।”
सडक कालोपत्र गर्न अनुमति पाएपछि अहिले उक्त सडकमा रात दिन कामदारले काम गरिएका छन्। उक्त सडक तोकिएको समयमै सम्पन्न हुने लक्ष्यसहित काम सञ्चालन गरिएको पिएस कन्स्ट्रक्शनका प्रमुख प्रेमशङ्कर भट्टले बताए। रासस