छाङरू जाने सशस्त्र प्रहरीको टोली दार्चुला पुग्यो
दार्चुला : दार्चुलाको कालापानी क्षेत्रका लागि हिँडेकाे सशस्त्र प्रहरीको टोली काठमाडौंबाट दार्चुला पुगेको छ।
कालापानी क्षेत्रका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत सशस्त्र प्रहरीको टोली काठमाडौंबाट बिहान ११ बजे दार्चुला सदरमुकाममा रहेको दुर्गादल गुल्ममा अवतरण गरेकाे हाे।
कालापानीनजिकै छाङरूमा सशस्त्र प्रहरी बलको सीमा सुरक्षा चेकपोस्ट (बीओपी) स्थापनाका लागि दार्चुलाको खलंगाबाट २५ जना सशस्त्र प्रहरी र ९ जना नेपाल प्रहरीको टोली आफ्ना बन्दोबस्तीका साथ छाङ्गरु जाने कार्यक्रम छ।
छाङ्गरुमा प्रहरी निरीक्षकको कमाण्डमा २५ जना सशस्त्र प्रहरी रहनेछन्। उनीहरूले सीमारक्षा गर्नुका साथै अपराध नियन्त्रणमा समेत भूमिका खेल्नेछन्। कालापानीबाट १० किलोमिटरको दूरीमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट राख्न लागिएको छ।