सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको टीकापुर बीउ उत्पादनको ‘हब’ बन्दै

२०७७ वैशाख ३०, ०२:३४

झलनाथ खनाल, कैलाली : कैलालीको पूर्वी क्षेत्रका कृषि सहकारीले बीउ उत्पादनलाई प्राथमिकता दिन थालेका छन्। सहकारीले किसानसँग समन्वय गर्दै बीउ उत्पादनको दायरा बढाएका छन्।

जानकी गाउँपालिका वडा नं ४ मा रहेको बीज वृद्धि किसान सहकारी सस्थाले बीउ उत्पादनका लागि महत्वपूर्ण मानिन्छ। विसं २०६२ देखि  उत्पादन शुरु गरेको सो सहकारी किसानका लागि आशा भरोसाका रुपमा रहँदै आएको छ। किसानलाई बीउ,  प्राविधिक सहयोग साथै उत्पादन गरेको वस्तु आफैँ खरिद गर्दै आएको सहकारीका अध्यक्ष रामफल बडायकले जानकारी दिए। उनले बर्षेनी बीउ उत्पादनको दायरा बढाउँदै लगेको र अझै पनि मागको पूर्ति गर्न नसकेको बताए।

“माग धेरै छ। मागअनुसार अझै पनि उत्पादनको दायरा बढाउन सकेका छैनौँ”, उनले भने, “हामीले किसानलाई बीउ उत्पादनका लागि प्रोत्साहन गर्दै आएका छौँ। किसानले उत्पादन गरेको वस्तु बजार मूल्यभन्दा बढीमा खरिद गर्दै आएका छौँ।”

सहकारीले धान र गहुँ बजार मूल्यभन्दा ३००, मकै एक हजार, तोरी र मसुरो १० प्रतिशतभन्दा बढी मूल्यमा खरिद गर्दै आएको छ। दुई हजार १०० क्विन्टल धानको बीउ बिक्री गरेको बताउँदै सहकारीका व्यवस्थापक गोविन्दराज रावतले १०९ हेक्टर क्षेत्रफलमा गहुँको बीउ उत्पादन गरेको बताए। उनले गत वर्ष ९५ हेक्टर क्षेत्रफलमा लगाएको धान बाली यस वर्ष १०० हेक्टर पु¥याउने लक्ष्य रहेको जानकारी दिए।  चार हेक्टर क्षेत्रफलबाट चैते धानको बीउ उत्पादन शुरु गरेको तथा रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाइले सहकारीलाई  सहयोग गर्दै  जनाइएको छ। ती बीउ कैलाली, कञ्चनपुर, बर्दिया, बाँके, सुर्खेतलगायत पहाडी जिल्लामा समेत जाने गरेको छ।  

बीउ भण्डारको समस्या हुँदा किसानले उत्पादन गरेको बीउ किसानले आफ्नै घरमा भण्डार गर्दै सिजनमा बिक्रीका लागि ल्याउने गरेको भए पनि पछिल्लो समयमा सहकारी सस्थासंँग पर्याप्त बीउ भण्डारणका लागि संरचनासमेत निर्माण भएका छन् भने बीउ ग्रेडिङका लागि दुईवटा मेसिनसमेत जडान गरिएको छ।

त्यस्तै टीकापुर नगरपालिका वडा नं ८ मा विसं २०७३ मा स्थापना भएको धनसिंहपुर कृषि सहकारी संस्थाले पनि बीउ उत्पादनको क्षेत्र बढाउने भएको छ। अघिल्लो वर्षमा ६० हेक्टरमा धानको बीउ उत्पादन गरेको सहकारीले यस वर्ष त्यसको क्षेत्रफल बढाइने बताउँदै सहकारीका अध्यक्ष धनसिंह साउदले १०० हेक्टर क्षेत्रफलमा गहुँको बीउ उत्पादन गरिएको बताए। उनले टीकापुर नगरपालिकामा धनसिंहपुर कृषि सहकारी संस्था, उज्यालो बहुउद्देश्यीय कृषि सहकारी संस्था र नमूना कृषि सहकारी संस्थाले बीउ उत्पादन, भण्डारण र बिक्री वितरणको काममा अन्य सहकारीभन्दा बढी सक्रिय भएर काम गर्दै आएको बताए। 

रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाइका प्रमुख भरत कँडेलले कृषि सहकारीलाई आयोजनाले विशेष सहयोग गर्दै आएको बताउँदै अन्य क्षेत्रमार्फत गरेको लगानीभन्दा कृषि सहकारीमार्फत गरेको लगानीको नतिजा राम्रो देखिएको जानकारी दिउ।  उनले बीउ उत्पादनका लागि कृषि सहकारी संस्थालाई नै बढी प्राथमिकतामा राखिँदै आएको बताउँदै अबको केही वर्षमा टीकापुर क्षेत्र बीउ उत्पादनको हब बन्न सक्ने आशा व्यक्त गरे। –रासस

कमेन्ट लोड गर्नुस