सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा कोरोना अस्पतालको निर्माण अन्तिम चरणमा, महेन्द्रनगरमा सुस्त

२०७७ वैशाख २९, ०५:०४ कमल सावद

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले निर्माण गरिरहेका कोरोना अस्पतालको काम जारी छ। निर्माण कार्य निर्धारित समयमै सकिनेमा भने आशंका गरिएको छ। 

प्रदेशको सामाजिक विकास मन्त्रालयको बजेटमा कैलाली र कञ्चनपुरमा निर्माण भईरहेको प्रि–फ्याव आइसोलेसन भवन सहितको अस्पतालको ठेक्का सम्झौता सकिनै लाग्दा कामले पूर्णता पाउन नसकेको हो। ती अस्पतालको निर्माण सम्पन्न गर्नका लागि एक महिनाको ठेक्का सम्झौता भएको थियो। 

तर महाकाली अस्पतालले निर्माण समाग्रीको अभाव रहेको भन्दै ढिलाई भएको दावी गरिरहेको छ भने धनगढीमा निर्माणाधिन प्रि–फ्याव भवनको काम अन्तिम चरणमा पुगेको जिकिर गरिएको छ। महाकाली अस्पतालले ठेक्का दिएर निर्माण थालिएको ५० शैयाको प्रि–फ्याव भवन सहितको कोरोना अस्पतालको सम्झौता आउँदो जेठ ८ मा सकिन लागेको भएपनि ३५ प्रतिशत मात्र प्रगती भएको प्रदेशको सामाजिक विकास मन्त्रालय मातहतको शिक्षा समन्वय इकाई कैलालीका इन्जिजियर दिनेश बोहराले बताए। 

उता निर्माण व्यवसायीले भने निर्माण समाग्रीको अभावका कारण कामलाई गति दिन नसकिएको दावी गरेको छ। निर्माण ठेक्का पाएको दिपेन बिल्डर्स प्रालिका सञ्चालक दिपेन कार्कीका अनुसार निर्माण सामग्रीको अभावकै कारण काममा सुस्तता भएको हो। 

यता धनगढीमा कोरोना विशेष अस्पताल तोकिएको सेती अस्पताल मातहत रहने गरी निर्माण भईरहेको प्रि–फ्याव भवनको काम बैसाख ३० गते सक्नुपर्ने भएपनि कामले गति नलिदा दुई दिनभित्र पूरा हुनेमा आशंका बढेको छ। तर ९५ प्रतिशत भौतिक प्रगति भइसकेकाले बैशाख ३० भित्रै काम सम्पन्न हुने स्वास्थ्य कार्यालय कैलालीका निमिक्त प्रमुख लालबहादुर धामीले दावी गरे।

सामाजिक विकास मन्त्रालयले दुवै जिल्लामा प्रि–फ्याव सहितको कोरोना अस्पतालका लागि एक÷एक करोड बजेट उपलब्ध गराएको थियो। महाकाली अस्पतालको प्रि–फ्याव भवन सहितको अस्पताल निर्माणका लागि  ९२ लाखमा दिपेन बिल्डर्स प्रालिसंग र धनगढीको आईसोलेसन भवनको ९४ लाख ६ हजारमा किनारा कन्ट्रक्सन ठेक्का सम्झौता भएको थियो।     

 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस