सुदूर नेपाललाई विश्वसँग जोड्दै

कांग्रेस डडेल्धुराले अलपत्र परेका नागरिकलाई खाना खुवाउने

२०७७ वैशाख २७, ०६:४६ खबर संवाददाता

डडेल्धुरा: नेपाली कांग्रेस डडेल्धुराले जिल्लामा अलपत्र परेका नागरिकलाई निःशुल्क खाना खुवाउने व्यवस्था गरेको छ। कांग्रेसले अलपत्र तथा कामको सिलसिलामा जिल्ला सदरमुकाम आएका नागरिकलाई खाना व्यवस्था गरिएको हो। 

मानवता बचौँ भनेका नाराका साथ किसुनजी भवन कांग्रेस पार्टी कार्यालयमा ‘एनडी प्रकाश चटौत आपतकालीन भोजन चुलो’ नाम दिएर सञ्चालन गरिएको नेपाली कांग्रेस डडेल्धुराका सभापति तथा प्रदेश सभा सदस्य कर्णबहादुर मल्लले जानकारी दिए।

‘कोरोनाको महामारीबाट बच्न सरकारले गरेको लकडाउनका कारण सदरमुकामका होटलहरू छन्’ उनले भने, ‘होटल बन्द हुँदा यहाँ आउने नागरिकलाई खानाको समस्या हुने भएकाले निःशुल्क खानाको व्यवस्था गरेका हौं।’ बिहीन र साँझ २ छाक निःशुल्क खाना व्यवस्थापनका लागि कांग्रेस नेता टंकप्रसाद क्षेत्रीको संयोजकत्वमा २१ सदस्यीय सेवा दल गठन गरेको सभापति मल्लले बताए। 

समाजिक दूरी कायम गरेर खुवाइने खानामा जनप्रतिनिधि तथा समाजिक संघ संस्थाहरु र व्यपारीहरुले सक्दो सहयोग गरेका उनले बताए। खाना नपाएर कुनै पनि नागरिक भोकले छट्पटाउन नपरोस् भनेर आपतकालीन भोजन चुलोको व्यवस्था गरेको र अलपत्र नागरिकले जुनसुकै समयमा पनि कार्यालयले तोकेका तथा पार्टी कार्यालयको फोनमा सम्र्पक गर्न सेवा दलका संयोजक क्षेत्रीले आग्रह गरे।

अतिआवश्यक कामको लागि डडेल्धुरा सदरमुकाम आएका आफ्ना आफन्त नभएका नागरिकलाई भोजन चुलो संचालनमा आएपछि राहत हुने कांग्रेसको ठहर छ। डडेल्धुरामा अहिले सामाजिक अभियन्ता प्रकाश साउँदले ४० जना बस्ने बास व्यवस्थापन गरेका जनाएका छन्। साथै कांगे्रसले पनि छिट्टै बास व्यवस्थापन पनि गर्ने जनाएको छ।

शनिबारबाट सुरु गरेको भोजन चुलोमा यस क्षेत्रमा मजदुरी गर्ने २० जनालाई खाना खुवाउने कार्यालय सचिव राम विष्टले बताए। शनिबारदेखि सुरु भएको आपतकालीन भोजन चुलो लकडाउन अवधिसम्म संचालनमा रहनेछ।

कमेन्ट लोड गर्नुस