बैतडीमा अलपत्र मजदूरको उद्धार
बैतडी, २६ वैशाख (रासस) :भारतबाट फर्किएर अलपत्र परेका सुदूरपश्चिमका विभिन्न जिल्लाका २२ मजदूरको उद्धार गरिएको छ। १४ आज र आठको बिहीबार उद्धार गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
उद्धार गरिएका उनीहरूलाई गाडीमार्फत सम्बन्धित जिल्ला पठाइएको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए। उद्धार गरिनेमा बाजुराका आठ, कञ्चनपुर र कैलालीका चार/चार तथा डोटी र डडेल्धुराका तीन÷तीन जना रहेका छन्। दार्चुलास्थित महाकाली नदीको रत्यौडा नाकाबाट ट्युबमार्फत उनीहरू नेपाल भित्रिएका प्रहरीले जनाएको छ।
ट्युबमार्फत नेपाल भित्रिएका उनीहरूलाई प्रहरीले जिल्लाको दोगडाकेदार र दशरथचन्द नगरपालिकाका विभिन्न क्षेत्रमा भेट्टाएको प्रहरी प्रवक्ता किसन चन्दले बताए। उनीहरू भारतको पिथौरागढमा सडक मजदूरका रुपमा कार्यरत रहेका थिए। भारतमा लकडाउन खुकुलो भएपछि उनीहरू नेपाल प्रवेश गर्न पाएका हुन्। भारत सरकारले पिथौरागढ जिल्लालाई ग्रिन जोनमा राख्दै लकडाउन खुकुलो बनाएको छ।
यसैबीच बैतडी र दाुर्चलाका भारतीय सीमा क्षेत्र महाकाली किनारमा शसस्त्र प्रहरी खटाएको भए पनि छलेर नेपाल प्रवेश गरिरहेका छन्। अवैधरुपमा यसरी नेपाल भित्रिने क्रम नरोकिँदा कोरोना भाइरस सङ्क्रमणको जोखिम पनि बढ्दै गएको छ।