सुदूर नेपाललाई विश्वसँग जोड्दै

गेटा मेडिकल कलेजमा एक बर्षभित्रै अस्पताल सुरु गर्ने तयारी

२०७७ वैशाख २५, ०३:३४ खबर संवाददाता

धनगढी : २०७३ साल बैशाखदेखि निर्माण सुरु भएको गेटा मेडिकल कलेजमा ७० प्रतिशत भौतिक प्रगति भएको छ। अर्को आर्थिक बर्षभित्रै अस्पताल सेवा सुरु गर्ने तयारीका साथ निर्माण कार्यलाई तिव्रता दिईएको हो।

गेटा मेडिकल कलेज पूर्वाधार निर्माण विकास समितिका अनुसार कलेजको सात वटा प्याकेजमा निर्माण थालिएकोमा ६ वटा प्याकेजमा ८० प्रतिशत भौतिक प्रगती भएको छ।

एउटा प्याकेजमा झण्डै ५० प्रतिशत भन्दा बढि भौतिक प्रगती भएको मेडिकल कलेज पूर्वाधार निर्माण विकास समितिका कार्यकारी निर्देशक भीमवहादुर साउदले जानकारी दिए।

‘कलेज भवनको ९५ प्रतिशत निर्माण सकिएको छ। अस्पताल भवनको ७० प्रतिशत, प्रशासनिक भवनको ८५ प्रतिशत निर्माण सकिएको छ। ८ वटा आवासगृहको निर्माणमा भने केही ढिलाई भईरहेको छ।’ कार्यकारी निर्देशक साउदले दिनेश खवरलाई भने।

उनका अनुसार अहिले २३ वटा भवनको निर्माण भईरहेको छ भने सडक र तटबन्धको कार्य समेत जारी रहेको छ। लकडाउनमा पनि गेटा मेडिकल कलेजको निर्माण कार्य जारी राखिएको बताउँदै उनले भने, ‘सबै प्याकेजमा निर्माण व्यवसायीहरुले पछिल्लो समय कामदारको सङख्या समेत बढाएका छन्। कामदारलाई भित्रै राख्ने व्यवस्था मिलाइएको छ।’

कार्यकारी निर्देशक साउदले निर्माणका लागि आवश्यक पर्ने सिमेन्ट लगायतका सामान ढुवानीका लागि जिल्ला प्रशासनले अनुमती दिईसकेको बताउँदै काठमाडौँ लगायतका क्षेत्रबाट ल्याउन पर्ने निर्माण सामाग्रीको भने अभाव रहेको बताए।

अर्को आर्थिक बर्षभित्रै अस्पताल सञ्चालनका लागि बजेट समेत माग गरिएको कार्यकारी निर्देशक साउदले दिनेश खवरलाई जानकारी दिए। यद्यपी अस्पताल सञ्चालन र पठनपाठनका लागि प्रक्रिया अझै सुरु हुन सकेको छैन्।

मेडिकल कलेज सञ्चालनका लागि आधारतभुत पुर्वाधारहरु तयार भईसकेपनि अस्पताल सञ्चालन र पठनपाठनका लागि सम्वन्धित निकायले प्रक्रिया अगाडी बढाउन नसकेको हो।

सुरुवातमा २०७७ सालदेखि नै अस्पताल र पठनपाठन सुरु गर्ने लक्ष्य राखिएपनि आवश्यक प्रक्रिया अगाडी नबढ्दा अव २०७८ भित्र सञ्चालन गर्ने तयारी भईरहेको छ। अस्पताल सञ्चालनका लागि आवश्यक उपकरण, शैया लगायतको खरिद प्रक्रिया समेत सुरु भएको छैन्।

कमेन्ट लोड गर्नुस