बैतडीमा आरडिटी कीटको अभाव
विनोदसिंह विष्ट, बैतडी : बैतडीमा र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) किटको अभाव भएको छ। जिल्लामा भारतबाट फर्केका सबै नागरिकको आरडिटी गर्ने भनिए पनि किटको अभावमा सो कार्य अघि बढाउन नसकिएको हो
जिल्लाका १० वटै स्थानीय तहमा भारतबाट फर्केका नागरिकको आरडिटी गर्ने निर्णय भएको भए पनि किटको अभावमा सो कार्य अघि बढाउन नसकिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए। डिलाशैनी र दोगडाकेदार गाउँपालिकामा मात्रै भारतबाट फर्केका नागरिकको आरडिटी गर्न किट पठाइएको छ। जिल्लामा हाल ६०० किट मात्रै मौज्दात रहेका उनले बताए।
जिल्लामा चैत महिनामा झण्डै पाँच हजार नागरिक भारतबाट फर्केका भए पनि ५४८ को आरडिटी गरिएको छ। यस्तै ४३० को स्वाब परीक्षण गरिएको थियो। अहिलेसम्म परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको छ। यसका साथै गत बिहीबार मात्रै भारतबाट बैतडीका एक हजार बढी नागरिक भित्र्याइएको थियो।
जिल्लामा आरडिटी किटको अभाव भएकाले प्रदेशमा माग गरिएको भए पनि प्रदेशमा समेत आरडिटी किटको अभाव रहेको छ। कोरोना भाइरस रोकथाम तथा नियन्त्रण योजनाअन्तर्गत जिल्ला संयन्त्रको बैठकले भारतबाट फर्केका नागरिकको आरडिटी गर्ने निर्णय गरेको थियो तर किटको अभावमा सो निर्णय कार्यान्वयनमा समस्या भएको स्वास्थ्य कार्यालयले जनाएको छ। –रासस