सुदूर नेपाललाई विश्वसँग जोड्दै

लकडाउनको बेला मुख र दाँत स्वस्थ राख्न के–के गर्ने ?

२०७७ वैशाख २२, ०४:०३

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस(कोभिड–१९) को कारणले संसारका अधिकांश देशहरुमा लकडाउन चलिरहेको छ। चिनको हुवाइ प्रान्तमा सन् २०१९ को डिसिम्बर अन्त्यतिर कोरोना भाइरसबाट आजको दिनसम्म विश्वभर करिब ३५ लाख भन्दाबढी कोरोना संक्रमित भइसकेका छन।् भने, अढाई लाख बढी मानिसहरुले ज्यान गुमाउनु परेको अवस्था छ।

कोरोनाको संक्रमणले नेपाल त्यति चपेटामा नपरेपनि हालसम्म पिसीआर प्रविधिबाट करिब तेह्र हजार भन्दा बढीको परीक्षण हुँदासम्म ७५ जनामा कोरोना संक्रमण पुष्टी भइसकेको छ भने, १६ जना निको भई घर फर्किसकेका छन्। त्यसैगरि देशभर कोरानोको आशंकामा ७७ जना आइसोलेसनमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्कले देखाउछ। स्वास्थ्य तथा विज्ञान प्रविधिमा संसारमा उत्कृष्ट मानिएका देशहरुमा अहिले कोरोनाको भयाभह अवस्था छ  संयुक्त राज्य अमेरिका लगायत युरोपियन मुलूकहरुमा कोरोनाले त्यहाँको स्वास्थ्य क्षेत्रको अवस्थालाई थप चुनौतीपूर्ण बनाइदिएको छ।

यूरोपियन देशहरुसंगै अहिले एसियन देशहरु भारत, टर्की, इरान लगायत अन्य देशहरुमा संक्रमण तिब्र गतिमा बढीरहेको छ। त्यसैले नेपाल सुरक्षित हुन भारतसंगको खुल्ला सिमा नाकामा कडाई, कोरोना परिक्षणमा तिब्रता र सरकारले जारी गरेको लकडाउनको पालना गर्न बाहेक विकल्प छैन्। अन्यथा नेपालको पनि युरोपियन देशहरुको जस्तो अवस्था नआउला भन्न सकिन्न। 

कोरोनाको महामारी फैलिएसंगै नेपाल २०७६ चैत्रको दोस्रो सातादेखी लकडाउनमा छ। त्यसैले अहिलेको अवस्थामा सम्पूर्ण कार्यालय, विद्यालय, विश्वविद्यालय देखि आपतकालिन सेवा बाहेकका अस्पतालहरु पनि बन्द भएको कुरा अवगत नै छ। तसर्थ आपतकालिन अवस्थामा बाहेक घरमै बसेर समग्र शरिरको स्वास्थ्यसंगै दाँत तथा मुख स्वास्थ्यको ख्यालगर्नु बुद्धिमानी हो। 

सामान्य अवस्थामा पनि अस्पताल आउँदा भिडभाड बढीहुने र कोरानाको जोखिमपनि उच्च हुने गर्दछ। अझ विशेषगरी दन्तरोग उपचारमा बिरामी र डाक्टर बिचको दूरी निकै कमहुने हुँदा कोरोना संक्रमणको जोखिम दूबै पक्षमा उच्च रहन्छ। विश्व स्वास्थ्य संगठनले कोरोना संक्रमण सर्नबाट कम्तिमा ६ फिटको दूरी कायम गर्नुपर्ने र सोही अनुसार उपचार गर्नुपर्छ भन्ने मान्यता राख्दछ। तर दन्त उपचारका क्रममा त्यो सम्भव देखिदैन्। त्यसैले अहिले आकस्मिक अवस्थामा बाहेक घरमै बसेर मुख तथा दाँतको हेरचाह गर्नु महत्वपूर्ण देखिन्छ।  

दाँत तथा मुख स्वास्थ्यः
दाँत तथा मुख स्वास्थ्य भन्ने वित्तिकै दाँत र मुख संग जोडिएर आउने गिजा, जिब्रो, तालु, चिउडो, गाला लगाएत मुखको वरिपरीको भागहरुको स्वास्थ्य बुझ्नुपर्दछ। मुख हाम्रो शरिरको प्रवेशद्वार मात्र नभई शरिरको प्रतिविम्बित ऐना पनि हो। मुखमा भएको संक्रमणले शरिरको अन्य अंगहरुमा संक्रमण गराउनुको साथै, शरिरमा कुनै रोग भएमा, रोग लाग्न सुरु भएमा अथवा रोगको जटिलता भएमा त्यसको प्रतिविम्बको रुपमा मुखमा घाउ खटिरा आउने, गीजाबाट रगत बग्नु, श्वास गन्हाउने जस्ता समस्याहरु देखा पर्दछन्। त्यसैले मुखले हाम्रो समग्र शरिरको स्वास्थलाई झल्काउछ। मुख स्वस्थ रहे मात्रै शरिर स्वस्थ रहन्छ। तसर्थ घरमै बसेर लकडाउनको अवस्थामा दाँत र मुखको स्वास्थ्यलाई ख्याल गरौं।

लकडाउनको बेला दाँत तथा मुख स्वस्थ राख्ने तरिकाहरुः
१. दाँत तथा मुखको सरसफाईमा ध्यान दिने 
-हरेक दिन विहान र बेलुका खाना खाइसकेपछि कुल्ला गर्ने तथा नरम ब्रस र फ्लोराइड युक्त दन्तमञ्जनले दाँत माझ्ने 
-दूई ओटा दाँतको विचमा अड्केको खाना निकाल्न पिन, टुथपिक वा नङको प्रयोग नगरि डेन्टल फ्लस वा इन्टर डेन्टल ब्रस प्रयोग गर्ने 
–सानो बाबु नानीहरुलाई पनि नियमित दाँत माझ्न लगाउने वा माझ्न सहयोग गर्ने 
–आर.सी.टि. उपचार पूरा नभईसकेको वा पूरा भएको तर खोल्न लगाइएको दाँत भाच्चिने सम्भावना भएको हुँदा सो दाँतले कडा बस्नुहरु नटोक्ने  

२. अनावश्यक खानेकुरामा नियन्त्रण गर्नेः
–सन्तुलित भोजन जस्तैः रेशादार पौष्टिक आहार तथा हरियो सागसब्जी, दूध, दही प्रशस्त खाने 
–धेरैबेरसम्म दाँतमा चप्किने, टाँसिने, साह्रो, गुलियो, अमिलो र प्रशोधित खानेकुरा नखाने
–मध्यपान तथा धुम्रपान नगर्ने 

३. दन्त चिकित्सकसंंग परामर्शमा रहने 
माथि उल्लेखित कुराहरु पालना गर्दागर्दै पनि समस्या आएमा लकडाउनको समयमा नजिकैको दन्त चिकित्सकसंग परामर्श लिने र सल्लाहअनुसार मात्र अस्पताल वा डेन्टल क्लिनिक जाने

अस्पताल जानुपर्ने अवस्थाहरुः
नेपाल डेन्टल एसोसियसनले निम्न अवस्थाहरुलाई आपतकालिन अवस्था वा अस्पताल जानुपर्ने अवस्था भनेको छ

१. अत्याधिक मात्रामा मुख तथा दाँतमा सहन नसक्ने गरि दुखाई भएमा 
२. कुनै कारणबस अत्याधिक रक्तस्राव भएमा र रगत बग्न नरोकिएमा 
३. संक्रमण तथा चोटपटकले अनुहार, गाला, घाँटी वरिपरि सुन्निएर थुक्न निल्न वा श्वास फेर्ने गाह्रो भएमा 
४. दुर्घटना अथवा अन्य कुनै कारणबस दाँत तथा मुखमा चोटपटक लागेमा र मुख तथा अनुहारको हड्डी भाँचिएमा 

अन्तमा, लकडाउनको समयमा घरमै बसी सरकारले जारी गरेको शन्देशलाई पालना गर्दै मुख तथा दाँतको स्वास्थ्यमा पनि ध्यान दिऔं र आपतकालिन अवस्थामा बाहेक अस्पताल नजाऔं, कोरोना संक्रमण हुने जोखिमबाट आफू पनि बचौँ र अरुलाई पनि बचाँऔ।

(लेखक बुढा डडेल्धुरा अस्पताल डडेल्धुरामा दन्त चिकित्सकको रुपमा कार्यरत छन्।)

कमेन्ट लोड गर्नुस