नेपालमा पहिलोपटक ७ वर्षीय बालकमा कोरोना पुष्टि
नेपालमा पहिलोपटक ७ वर्षीय बालकमा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ। आइतबार कोरोना पोजेटिभ देखिएका नेपालगञ्जका ९ जना बाँकेका ६० वर्षीय संक्रमितको सम्पर्कमा रहेका व्यक्ति भएको खुलेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार नेपालगञ्जमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो। संक्रमित मध्ये ५ पुरुष र ४ जना महिला छन्। उनीहरु ७ देखि ५८ बर्षका छन्।
यसअघि नेपालगञ्जमा एक जनामा संक्रमण देखिएको थियो। आज नै एक जना वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाका ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण फेला परेको थियो। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ६९ पुगेको छ।