सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा घर घरमै स्वास्थ्य सेवा

२०७७ वैशाख २१, ०३:३७

कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहदा दीर्घरोगी, ज्येष्ठ नागरिक तथा गर्भवतीको घर घरैमा उपचार सेवा शुरुआत गरिएको छ। स्वास्थ्य चौकीमा आई  सेवा लिन नसक्ने ती नागरिकलाई  घरैमा गएर स्वास्थ्य सेवा दिन यहाँका नौवटै स्थानीय तहले थालेको शिखर नगरपालिकाका स्वास्थ्य संयोजक हरिष शाहले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “कोरोनाको त्रासका कारण स्वास्थ्य संस्थामा आएर उपचार गर्न नसक्ने तथा अन्य कारणले स्वास्थ्य संस्थामा आउन नसकेका दीर्घरोगी, ज्येष्ठ नागरिक तथा गर्भवतीलाई हामीले घरैमा स्वास्थ्य जाँचसहित औषधि वितरण गर्न थालेका छौँ, बिरामी र गर्भवतीले घरैमा स्वास्थ्य जाँचसहित औषधि पाउन थालेका छन्।” दिपायल सिलगढी र  शिखर नगरपालिका, आदर्श, सायल, पूर्वीचौकी, केआइसिंह, बोगाटन फुड्सिल, बडीकेदार तथा जोरायल गाउँपालिकाले आफ्नो गाउँपालिकामा रहेका दीर्घरोगीका लागि घर घरमै औषधि उपलब्ध गराएका छन्। आफ्नो स्थानीय तहमा बसोबास गर्ने दीर्घरोगीलाई संस्थागत रूपले घर घरमा औषधि उपलब्ध गराउन थालिएको जोरायल गाउँपालिकाका स्वास्थ्य संयोजक गोविन्द विष्टले जानकारी दिनुभयो।

उहाँले भन्नुभयो, “जिल्ला बाहिरबाट औषधि मगाएर प्रयोग गर्दै आएका नागरिकको समस्यालाई मध्यनजर गर्दै हामीले आफैँले औषधि मगाएर वितरण गर्न शुरु गरेका छौँ, जसले गर्दा दीर्घ रोगीलाई औषधि सेवनमा सहज भएको छ।” दीर्घरोगीको नाम, ठेगाना, उमेर सङ्कलन गरी नियमित औषधि सेवन गर्न चिकित्सकले प्रमाणित गरेको कागजातका आधारमा निःशुल्क औषधि वितरण गर्न थालिएको छ  जनाइएको छ।  वितरित औषधिमा उच्च रक्तचाप, मिर्गौला, दमखोकीलगायत रहेका छन्। यहाँका स्थानीय तहले दीर्घरोगीलगायत अन्य बिरामीका लागि घरैमा स्वास्थ्य सेवासहित औषधि वितरण गर्न शुरु गरेपछि स्थानीयवासी निकै खुशी भएको सायल गाउँपालिकाका स्थानीय तेजबहादुर डुम्रेलले बताउनुभयो। उहाँले भन्नुभयो, “लकडाउनले उपचार तथा औषधि किन्न नपाएर विभिन्न रोगका बिरामीलाई समस्या भएको थियो, स्थानीय तहले आफैँले किनेर घरैमा दिन थालेपछि उनीहरुलाई सहज भएको छ।”

दीर्घरोगीका लागि यहाँका स्थानीय तहले काठमाडौँलगायत ठाउँबाट औषधि मगाएर उपलब्ध गराउन थालेको सुदूरपश्चिम गाउँपालिकाका अध्यक्ष महासङ्घ तथा जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले जानकारी दिनुभयो। उहाँका अनुसार जिल्लाभरिमा कम्तीमा पनि ८०० भन्दा बढी नागरिक दीर्घरोगको औषधि सेवन गर्दै आएका छन्। यसै सिलसिलामा जिल्लाको केआइसिंह गाउँपालिकाले एक छुट्टै स्वास्थ्य टोली परिचालन गरी आफ्नो गाउँपालिकामा भएका ज्येष्ठ नागरिक र गर्भवतीलाई घरैमा स्वास्थ्य जाँच गराउने व्यवस्था मिलाएको छ। गाउँपालिकामा रहेका स्वास्थ्यकर्मीलाई गाउँ गाउँमा खटाएर गाउँपालिकाले आफ्ना गाउँपालिकामा भएका ज्येष्ठ नागरिक र गर्भवती महिलाको अवस्था, बच्चाको अवस्था, स्वासप्रस्वास, मुटुको गतिलगायत अन्य स्वास्थ्यको अवस्था, शरीरको अवस्थालगायत गर्भवती र बच्चाको शारीरिक अवस्थाका विषयमा पूर्वजानकारी लिन गाउँपालिकाले एक थान पोर्टेबल भिडियो एक्स–रे मेशिनसहित अन्य उपकरण र औषधिको व्यवस्था गरेको छ।

स्वास्थ्यकर्मीको टोलीले अहिले गाउँ गाउँमा गएर ज्येष्ठ नागरिकको अवस्था र गर्भवती  तथा गर्भमा रहेको बच्चाको स्वास्थ्य जाँच गर्न थालेको केआइसिंह गाउँपालिकास्थित दुर्गामाण्डौँ स्वास्थ्य चौकीका अनमी गीता भट्टले जानकारी  दिनुभयो। उहाँले भन्नुभयो, “स्वास्थ्य संस्थामा पुगेर उपचार गर्न निस्कने ज्येष्ठ नागरिक र गर्भ जाँच गर्न नसक्ने अवस्थाका गर्भवतीलाई हामीले घरैमा गएर स्वास्थ्य जाँच गर्न थालेका छौँ, जसले गर्दा ज्येष्ठ नागरिक र गर्भमा भएको बच्चाको अवस्थाका बारेमा सजिलैसँग बुझ्न सकिएको छ।” यहाँका स्वास्थ्यकर्मीले तालिका बनाएर प्रत्येक महिना गाउँपालिकाका ६ वटै वडामा विभिन्न उपकरण, भिडियो एक्स–रे मेशिनसहित तालिम प्राप्त एकजना अहेव र एकजना अनमी पुग्ने र वडामै उनीहरुको स्वास्थ्य जाँच गर्ने गरी स्वास्थ्यकर्मीलाई औषधिसहितको व्यवस्था गरिएको गाउँपालिका प्रमुख लोकेन्द्रबहादुर शाहीले बताउनुभयो।

उहाँले भन्नुभयो, “हामीले तालिम प्राप्त स्वास्थ्यकर्मीको टोली पठाएर ज्येष्ठ नागरिक र गर्भवती महिलाको स्वास्थ्य जाँच गर्न थालेका छौँ, स्वास्थ्य उपचार र गर्भ जाँच गर्नकै लागि अब जिल्ला अस्पताल सिलगढी तथा दिपायल जानुपर्ने अवस्था बन्द भएको छ।” ज्येष्ठ नागरिकलाई आफ्नो स्वास्थ्य अवस्था तथा महिलालाई गर्भको बच्चाको अवस्थाका बारेमा समयमै जानकारी नहुँदा यहाँका ज्येष्ठ नागरिक तथा कतिपय गर्भवतीले अकालमै ज्यान गुमाउनुपर्ने बाध्यता भएपछि गाउँपालिकाले उक्त अभियानको थालनी गरेको गाउँपालिकाका उपाध्यक्ष मीना विष्टले जानकारी दिनुभयो। गाउँपालिकाले पछिल्लो समय ज्येष्ठ नागरिकको अवस्था तथा गर्भको बच्चाको अवस्थादेखि सम्भावित खतरा भए÷नभएको विषय आफ्नै गाउँमा थाहा पाउने व्यवस्था भएपछि गाउँमा भएका ज्येष्ठ नागरिक र गर्भवती  तथा अन्य स्थानीयवासी खुशी हुन थालेको केआइसिंह गाउँपालिका वडा नं ५ रानागाउँकी स्थानीय माधवी शाहीले बताउनुभयो।

गाउँपालिकाको कार्यालयसँगै जोडिएको दुर्गामाण्डौँ स्वास्थ्य चौकीका अहेव, हेल्थ असिस्टेन्ट तथा अनमीलाई स्वास्थ्य जाँचका लागि विभिन्न उपकरण तथा भिडियो एक्स–रेसम्बन्धी तालिम दिएर भिडियो एक्स–रे मेशिन खरिद गरिएको गाउँपालिकाले जनाएको छ। उक्त गाउँपालिकामा वार्षिक कम्तीमा पनि ५०० जना गर्भवती महिलाको गाउँमै पुगेर गर्भ जाँच गर्ने गरी भिडियो एक्स–रे मेशिन उपलब्ध गराइएको बताइएको छ। गाउँपालिकाले लागू गरेको ज्येष्ठ नागरिक र गर्भवतीको स्वास्थ्य घरैमा जाँच भन्ने कार्यक्रमअन्तर्गत ज्येष्ठ नागरिक र गर्भवतीको गाउँमै पुगेर स्वास्थ्य जाँच गर्ने व्यवस्था गरिएको हो। स्वास्थ्यकर्मीहरु गाउँपालिकाले उपलब्ध गराएको स्वास्थ्य उपकरण, औषधि तथा भिडियो एक्स–रे मेशिन झोलामा बोकेर हिँड्न मिल्ने किसिमको झोला बोकेर गाउँ गाउँमा उपचारका लागि गइरहेको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक तिलबहादुर बोहराले जानकारी दिनुभयो।

“गाउँपालिकाले ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच तथा  गर्भ जाँचका लागि मेशिन उपलब्ध गराएपछि गाउँमा भएका गर्भवती  र गर्भमा रहेका बच्चाको समग्र अवस्थाका विषयमा जानकारी लिन सजिलो भएको छ”, उहाँले भन्नुभयो, “उपचार गर्न नसकेका ज्येष्ठ नागरिक र खतरामा परेका गर्भवतीलाई तत्काल राम्रो अस्पतालमा पठाउन सहज भएको छ।” केआइसिंह गाउँपालिकाका सबै स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर (प्रसूति गृह) समेत सञ्चालन गरिएको छ। बर्थिङ सेन्टर सञ्चालनमा रहे पनि अहिलेसम्म भिडियो एक्स–रे मेशिन नहुँदा समस्या हुने गरेको स्थानीयवासी बताउँछन्। गाउँपालिकाले ज्येष्ठ नागरिक र गर्भ जाँचका लागि औषधि तथा आमाका लागि भिडियो एक्स–रे मेशिन उपलब्ध गराएपछि स्थानीयवासीमा खुशियाली छाउनाका साथै स्वास्थ्य जाँच गराउन पनि सजिलो भएको छ।–रासस/विमलबहादुर विष्ट, डोटी

कमेन्ट लोड गर्नुस