सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा घरमै निःशुल्क औषधि पुर्‍याउने अभियानमा युवा

२०७७ वैशाख २०, ०८:०३ खबर संवाददाता

डोटी :  बिश्वव्यापी रुपमा कोरोना भाइरस (कोभिड–१९) ले महामारी लिइरहेका बेला नेपाल समेत अछुतो रहेको छैन। कोरोना भाईरस फैलने डरले बिश्वनै लकडाउनको स्थितिमा रहेको छ। नेपालमा समेत लकडाउन भएको करिब छ हप्ता हुन लाग्यो।

लकडाउन आजसम्म आइपुग्दा नेपालमा बिपन्न तथा मजदुरी गरेर खाने बर्गहरुलाई जीवन धान्नै गाह्रो भईरहेको देखिन्छ भने अधिकांश दिर्घरोग भएका व्यक्तिहरुलाई औषधीहरु नपाएर समस्या भईरहेको पाईन्छ। डोटीमा भने लकडाउनको समयमा एक जना व्यक्तिको एकल प्रयासबाट दिर्घरोग भएका व्यक्तिहरुको समस्या टर्न थालेको छ भने राहत तथा अन्य सामाजिक कार्य समेत भईरहेको छ।

दिपेन्द्रबहादुर सिंहको सक्रियतामा डोटीका ग्रामीण भेगका दिर्घरोग भएका व्यक्तिहरुले निःशुल्क रुपमा घरमै औषधि सेवन गरिरहेका छन्। नेबिसंघका नेता समेत रहेका सिंह लकडाउनको समयमा यस्तो सामाजिक कार्यमा अग्रसर भएका छन्।

सामाजिक अभियन्ता सिंहले लकडाउनको समयमा जिल्लामा रहेका दम, प्रेसर, सुगर लगायत दिर्घरोग भएका व्यक्तिहरुका लागि बिभिन्न औषधालयहरुको सहकार्यमा निःशुल्क औषधीको संकलन गरी घरमै गएर उपलब्ध गराईरहेका छन्।

शनिबार उनले शिखर नगरपालिका वडा नम्बर १० मा रहेका दिर्घरोग भएका १२ जनाको घरमै गएर औषधि बितरण गरेका छन्। शिखर नगरपालिकाका प्रमुख सिताराम जोशीको सहभागीतामा उक्त अभियान सुरु गरेका हुन् । सिंहको काम सराहनीय रहेकोले यसमा सबैले सहयोग गर्नुपर्ने नगरप्रमुख जोशीले बताए।

औषधीको अभावमा र भोको पेट कसैले बस्न नपरोस् भन्ने उद्देश्यका साथ आफुले अभियान संचालन गरेको सिंहले बताए। ‘आजबाट निःशुल्क औषधी बितरणको काम सुरु गरेका छौं’, सिंहले भने, ‘यो अभियान जिल्लाभरीनै हुनेछ, अधिकांश व्यक्तिहरुले सम्पर्क समेत गरिसकेका छन्।’
यसअघि उनले क्वारेन्टाइनमा बसेका युवाहरुलाई साहित्यिक तथा ज्ञानवद्र्धक पुस्तक समेत वितरण गरिसकेका छन्। क्वारेन्टाइनमा बस्दा मानसिक तथा अन्य कुनै समस्या नआओस् भन्नका लागि पुस्तकहरु बितरण गरेका थिए।

सिंहको अगुवाईमा ठुलो मात्रामा राहत सामग्री संकलन समेत भईरहेको छ । अहिलेसम्म करिब तीन सय पचास बोरा चामल, दुई सय किलोग्राम दाल तथा एक सय पोका नुन लगायत खानेतेल संकलन भएको उनले बताए । साथै तीन हजार वटा मास्क समेत ल्याएको र छिट्टै उक्त राहत सामग्री आवश्यकता अनुसार स्थानीय तहहरुको सहयोगमा जिल्लाभरी बितरण गरिने सिंहले जानकारी दिए।

कमेन्ट लोड गर्नुस