भारतमा रोकिएका बझाङवासीको चित्कार– ‘बरु पशु बाध्ने गोठमा बस्छौं, उद्धार गरिदेउ’
बझाङ : बझाङको थलारा गाउँपालीकाका ९३ जना भारतको रामपुरमा रोकिएका छन्। उनीहरु त्यहाँ रोकिएको ३६ दिन भइसकेको छ। तीमध्ये १३ जना महिला र केही बालबालिका समेत रहेका छन्। एक महिला त दुई हप्ता अगाडी क्वारेन्टाइनमै सुत्केरी समेत भएकी छन्।
भारतको विभिन्न क्षेत्रबाट घर हिँडेका उनीहरुलाई लकडाउनपश्चात त्यहाँ प्रहरीले रोकेको हो। रामपुरको एक सार्वजनिक घरमा बनाएको क्वारेन्टाइनमा राखेका उनीहरुलाई त्यहाँको प्रहरी प्रशासनले सामान्य खाना दिएपनि धेरै समस्या भएको भरत थापाले बताए। उनले भने, ‘हामीलाई धेरै दुःख भएको छ, महिला बालबालिका छन्। खानबस्नको कुनै ठेगान छैन। यो दुःख सहनुभन्दा त मर्न सजिलो हुन्छहोला। बरु नेपालमा पशुचौपाया बाँध्ने गोठमा बस्न तयार छौ, उद्धार गरिदेऊ।’
‘बाथरुम’को पानी पिउने गरेकाले धेरैलाई स्वास्थ्य समस्या भएको उनीहरुको दुखेसो छ। साथै प्रहरी समेत आफ्नो अपमान गर्ने गरेको उनीहरुले बताएका छन्। त्यहाँ रोकिएका सबै थलारा गाउँपालीको दंगाजी, पाराकाट्ने र कोटभैरवमा घर भएका नागरिक हुन। ‘यहाँको दुखः समस्या धेरै छ’ टेलीफोनमार्फत अम्मर थापाले भने ‘सरकारले पहल गरेर हामी छिटो नेपाल आउन पाऊ।’ भारतले लकडाउन थपेपछि उनीहरु झन निराशावादी बनेका छन्। केहिको मानसिक अवस्था समेत बिग्रन थालेको अलपत्र परेकाहरुले बताएका छन्।
बैतडी र दार्चुला नाकामा रोकिएकाहरुलाई नेपाल जानदिएपछि रामपुरमा रोकिएकाहरुले पनि आफुहरुलाई नेपाल आउनका लागि पहल गरिदिन टेलीफोन तथा फेसबुकमार्फत नेपाल सरकार र जनप्रतिनिधिलाई आग्रह गर्दै आएका छन्।
थलारा गाउँपालिकाका जनप्रतिनिधिहरु र जिल्लाका सांसदहरुले आफुहरुलाई फिर्ता गर्नका लागि कुनै पहल तथा चाँसो नदेखाएको उनीहरुको गुनासो छ। त्यहाँ रोकिएका अम्मर थापाले भने, ‘स्थानीय जनप्रतिनधिसंग धेरैपटक फोन गरेर समस्याबारे भन्यौ तर कुनै सुनुवाई भएन। त्यहाँ रोकिएका नागरिकाहरुले पत्रकार तथा मानवअधिकारकर्मीलाई समेत आफुहरुलाई नेपाल भित्राउनका लागि पहल गर्न अनुरोध गरेका छन्।
उनीहरुलाई नेपाल ल्याउन थलाराका स्थानीय काँग्रेस नेताहरु मानबहादुर कडायत र सुर्य प्रकाश जोशीले आफुहरुले पहल गरिरहेका बताएका छन्। तर स्थानीय सरकारले चाँसो नदेखाएकाले समस्या भएको उनीहरुले बताए।
उता थलारा गाउँपालीका अध्यक्ष भुवनेश्वर उपाध्ययाले भने भारतको रामपुरमा रोकिएका नागगरिकलाई नेपाल ल्याउन सम्बन्धित निकायसँग समन्वय गरिरहेको बताएका छन्। त्यस्तै पूर्व वनमन्त्री भानुभक्त जोशीले पनि रामपुर साथै वनबासामा रोकिएका नेपालीलाई ल्याउन पहल भइरहेको बताएका छन्।
यस्तै सांसद प्रकाश रसाईली स्नेही, सांसद आशा विकले पनि त्यस विषयमा आफुहरुले पहल चालीरहेको बताएका छन्।