कञ्चनपुर र कैलालीका सीमावर्ती क्षेत्रमा राखिएकालाई ल्याउन अनुमती मिलेन
धनगढी : एक महिनादेखि भारतको पिथौरागढको धार्चुलाका क्वारेन्टाईनमा राखिएका मजदुरहरुलाई स्वदेश ल्याउने काम आजदेखि सुरु भएपनि कैलाली र कञ्चनपुरका सीमावर्ती क्षेत्रमा रहेकाहरुको हकमा कुनै निर्देशन प्राप्त भएको छैन्।
झण्डै एक महिनादेखि कैलालीसँग सीमा जोडिएको भारतको पलिया र कञ्चनपुरसँग जोडिएको वनबासा लगायतका क्षेत्रका क्वारेन्टाईनमा समेत नेपाली मजदुर राखिएको भएपनि स्वदेश ल्याउन स्थानीय प्रशासनले अनुमती नपाएको हो। कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले पलियामा झण्डै एक महिनादेखि क्वारेन्टाईनमा राखिएकाहरुलाई ल्याउने अनुमती नमिलेको बताए।
उनले गृह मन्त्रालयको निर्देशन कुरिरहेकाले अनुमती पाउने बितिकै पलियामा रोकिएका कैलाली सहित विभिन्न जिल्लाका एक सय २४ जनालाई ल्याईने जनाए। पलियामा कैलालीका ६९ जना, सुर्खेत, बैतडी, डडेल्धुरा, कञ्चनपुर लगायत जिल्लाका मजदुर रोकिएका छन्।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले समेत सीमा पारी रोकिएका नेपालीलाई ल्याउन अनुमती प्राप्त नभएको जनाएको छ। कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले भारतको वनबासा, खटिमा लगायतका क्वारेन्टाईनमा दुई सय ५१ जनालाई राखिएको बताए। तर गृह मन्त्रालयबाट उनीहरुलाई ल्याउन कुनै परिपत्र नआएको सहायक प्रजिअ उपाध्यायले जानकारी दिए।