सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराबाट हिडेरै कैलाली फर्किदै मजदुर : ठेकेदार, जनप्रतिनिधि र प्रशासनले वास्ता गरेन

२०७७ वैशाख १७, ०२:२० प्रकाश सिंह

बाजुरा : कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ का बिरेन्द्र कठरिया बाजुराको मार्तडीबाट हिडेर डोटीको सिलगढी पुगेका छन्। बाजुरामा सहरी विकासले निर्माण गरिरहेको सडकमा ज्यालादारी गर्दै आएका कठरिया निर्माण समाग्री अभावमा काम रोकिएपछि सोमबार कैलाली फर्किन पैदल हिडेरै सिलगढी पुगेका हुन्।

उनीसँगै बर्दागोरिया गाउँपालिका, मोहन्याल गाउँपालिका, लम्कीचुहा नगरपालिका गरी १४ जना सहकर्मी पनि कैलाली फर्किन हिडेका हुन्। हिडेर फर्किरहेका मजदुरले एक हप्ता पहिले नै बर्दागोरिया गाउँपालिकाका जनप्रतिनिधिले आफूहरुलाई गाउँ फर्किने व्यवस्था मिलाईदिन आग्रह गरेका भएपनि वेवास्ता गरेको आरोप लगाएका छन्।

कठरियाले दिनेश खबरलाई गुनासो गर्दै भने, ‘एक हप्ता पहिले नै गाउँपालिकाका अध्यक्षलाई फोन सम्पर्क गरी काम रोकिएकाले फर्किने व्यवस्था मिलाईदिन आग्रह गरेका थियौँ तर कसैले वास्ता गरेनन्। नेताहरु चुनावका बेला मात्र रहेछन् भोट माग्न घरदैलो आउने। ठेकेदार पनि ज्यालादारी नदिएपछि हामी पैदल हिडेर फर्किन बाध्य भएका हौँ।’

मजदुरहरुले बाजुराबाट गाडीहरु धनगढी आईरहेको भएपनि भाडा नहुँदा ल्याउन नमानेको बताएका छन्। उनीले जिल्ला प्रशासन कार्यालयले समेत आफूहरुलाई पासको व्यवस्था नगरिदिएका बताएका छन्।  उनीहरु चाउचाउ खाएर पैदल यात्रा गरिरहेका छन्। बाजुराबाट सोमबार आएका उनीहरु डोटीको सदरमुकाम सिलगढी पुगेका हुन्। 

राती एक घण्टा सम्म बाटोमै आरोम गर्दै आएको उनीहरुले बताएका छन्।  ‘बाजुराका प्रमुख जिल्ला अधिकारीलाई पास माग्दा गाडी खोज्नुस भन्नु भयो, गाडी  रिजर्भ गर्न पैसा थिएन। अरु धेरै गाडी गईरहेको भएपनि लैजान मानिरहेका छैनन्।’ गुनासो गर्दै बिरेन्द्र भन्छन्, ‘स्थानीय प्रशासनले समेत हामी मजदुरका पीडा सुनेन। ठेकेदारले काम गरेको पुरै पैँसा समेत दिनुभएको छैन्।

खल्तीमा दुईतीन सय रुपैँया छ कसैले वास्ता नगरेपनि चाउचाउ खादै घर पुगिहालौँला भन्ने आशा छ।’ बाजुराका प्रमुख जिल्ला अधिकारी गंगा प्रसाद न्यौपानेले पासका लागि पुगेपनि पैँसा नभएकाले पैदल हिडेरै जान्छु भनी उनीहरु गएको बताए। डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेल बाजुराबाट मजदुर हिडेर पुगेको विषयमा जानकारी नभएको बताए।

उनले आफ्नो जिल्लामा मजदुर अलपत्र परेको भएपनि सकभर समन्वय गरेर पठाउने प्रयास गरिने तर आफूले चाहेर मात्र नहुने भएकाले सम्बन्धी जिल्ला प्रशासन कार्यालयले आवश्यक समन्वय गर्नुपर्ने बताए। यता कैलालीको बर्दागोरिया गाउँपालिकाका अध्यक्ष बलीराम डगौरा थारुले मजदुरहरुले गाउँ फर्काईदिन आग्रह गरेको भएपनि सम्भव नभएको बताए।

उनले  जिल्ला प्रशासन कार्यालयसँग समन्वय गर्दा पास दिन नसकिने बताएको दावी गर्दै अहिले पैँसा पठाउन समेत समस्या भएको सुनाए। काममा लगाउने निर्माण व्यवसायीले नै मजदुरहरुको व्यवस्थापन गर्नुपर्ने भनाई अध्यक्ष डगौराको छ। ‘ठेकेदारले आवश्यक पर्दा काम गराउने अहिले त्यसरी छोड्न मिल्छ ? उनीहरुको ज्याला दिएर ठेकेदारले फर्काउने व्यवस्था मिलाईदिनुपर्छ।’  उनले भने। 

स्थानीय तहका जनप्रतिनिधि र सांसदहरुबीच काठमाडौँ लगायतका ठाउँमा रहेका विद्यार्थी र मजदुरहरुलाई घर फर्काउने होडबाजी चलेका बेला बाजुराबाट भने मजदुरहरु हिडेरै फर्किरहेका हुन्।

सरकारले सडकमा हिडेर कसैलाई घर फर्किन नदिन निर्देशन दिएपनि स्थानीय प्रशासनले मजदुरहरुलाई नदेखेझै गरेका छन्।

प्रशासनले ज्यालादारी गुमेका मजदुरलाई घर फर्काउन न गाडीको व्यवस्था गरेका छन् न त खान बस्न व्यवस्थापन मिलाउन सकेका छन्। जसका कारण मजदुरहरु हिडेर गन्तव्य फर्किरहेका हुन्। 

प्रकास सिह दिनेश खवरका बाजुरा संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस