सुदूर नेपाललाई विश्वसँग जोड्दै

काठमाडौँबाट फर्केका विद्यार्थीको गुनासो :क्वारेन्टाईनमा पानी अभावले सौचको समस्या

२०७७ वैशाख १५, ०७:३५ खबर संवाददाता

बैतडी : काठमाडौँ फर्केर बैतडीमा अनिवार्य क्वारेन्टाईनमा राखिएकाहरुले खानेपानीको अभावले समस्या भएको गुनासो गरेका छन्। बैतडीको जगन्नाथ बहुमुखी क्याम्पसको क्वारेन्टाईनमा राखिएका मजदुर र विद्यार्थीले खानेपानीको अभावका कारण सौच गर्न समेत समस्या भएको गुनासो गरेका हुन्।

दशरथ चन्द नगरपालिका ४ का प्रदीप केसीले क्वारेन्टाईनमा खाना र बस्नको प्रबन्ध राम्रो भएपनि खानेपानीको अभावले सौच गर्न तथा सरसफाईमा समस्या भएको बताए। उनले ३६ जना पुरुष र महिलाका लागि छुट्टाछुट्टै सौचालय भएपनि खानेपानीको उचित प्रबन्ध नहुँदा समस्या खेप्नुपरेको बताए।

 

 

यस्तै सामूहिक रुपमा बस्दा कोरोना भाईरस मात्र नभई अन्य सरुवा रोगको समेत जोखिम हुने भएपनि मास्क र सेनीटाईजर पनि नपाएको गुनासो गरिएको छ। केसीले काठमाडौँबाट फर्किने बेला लिएका सबै मेडिकल मास्क सकिएपनि नपाउँदा झनै जोखिम बढेको बताए। यता दशरथचन्द नगरपालिकाले भने क्वारेन्टाईनमा रहेकाहरुलाई त्यस्तो कुनै समस्या नभएको दावी गरेको छ।

नगर उपप्रमुख मिना चन्दले पहाडमा खानेपानीको जताततै अभाव हुने समय भएकाले केही समस्या भएको तर दुईवटा ट्याङ्की मार्फत आपूर्तीको व्यवस्था मिलाईएको बताईन्। उनले यसअघि खरिद गरिएका मास्क र सेनीटाईजर सकिएकाले तत्काल वितरण गर्न नसकिएको दावी गरिन्।

 

तर अहिले धनगढीबाट खरिद गरेर नगरपालिका पुगिसकेकाले आज वितरण गर्ने तयारी रहेको बताईन्। सरकारले लकडाउन गरेपछि काठमाडाँैमा अध्ययन गर्दै आएका विद्यार्थी र मजदुरहरुलाई फर्काउने क्रम जारी छ। उनीहरुलाई सम्बन्धीत स्थानीय तहले अनिवार्य क्वारेन्टाईनमा राख्ने व्यवस्था मिलाईएको छ। 

 

कमेन्ट लोड गर्नुस