लकडाउनको मारमा डडेल्धुराका कुखुरा व्यवसायी, विस्थापित हुने चिन्ता
टेकराज अवस्थी, डडेल्धुरा : कोरोनाको कारण भएको लकडाउनमा डडेल्धुराका कुखुरा व्यवसायी विस्थापित हुने अवस्था आएको भन्दै चिन्तित भएका छन्। सानो लगानीगरी स्वरोजगार भएका कुखुरा पालक किसानहरुका हजारौं कुखुराहरु खानेकूरा र औषधि नपाउने अवस्था आएपछि चिन्तित बनेका हुन।
डडेल्धुरामा करिब एक सय भन्दा बढी कुखुरा व्यवसायी रहेको र करोडौं लगानी गरेर आत्मनिर्भर बनिरहेका बेला आकस्मिक रुपमा फैलिएको संक्रमणको पहिलो शिकार पोल्ट्री व्यवसाय रहेको अवस्थी पोल्ट्री फार्म उद्योगका संचालक तथा डडेल्धुरा कुखुरा व्यवसायी संघका सचिव गणेशप्रसाद अवस्थीले बताए।
सचिव अवस्थीले भने, ‘बैंक सबै बन्द छन, कुखुरा बजारमा जान नपाएकोले हामीसँग नगद हुने कुरो भएन। दाना पठाउने उद्योगहरुले नगद मात्र भन्छन।’ ‘जान पनि समस्या छ, प्रशासनले केही राहत हुने सिफारिस गरिदिए केही समयका लागि कुखुरा बचाउने उपाय सोचिन्थ्यो तर त्यो हुन सकिरहेको छैन’ उनले थपे।
लकडाउनले बाहिरबाट आउने कुखुरा दाना नआउने र स्थानीय स्तरमा पनि दानाजन्य अन्नअनाज नपाइने भएकाकारण व्यवसाय धरासायी बन्दै गइरहेको अर्का कृषक नन्दराज भट्टले बताए।समय पुगेका कुखुरा तथा अण्डाहरु बजारमा जान नपाउनु, ढुवानीमा पासको समस्या, दाना र औषधिको अभाव, व्यवसायको निरन्तरताका लागि बैंकिङ कारोबार बन्द हुनुजस्ता जोखिमहरु रहेकोले कतिपय कृषकहरु पलायनको स्थितिमा पुगेको कृषकहरुको भनाई छ।
आफुहरुलाई कुखुरा बचाउन केही पहल गरिदिन दैनिक फोन आउने गरेको कुखुरा व्यवसायि संघका सचिव अवस्थीले बताए। ‘ठूला किसानलाई ठूलो सानालाई सानो भए पनि समस्या सबैको एकै हो। धेरै युवाहरु कुखुरापालनमा आकर्षित भएका थिए तर अब हामी के गर्ने कसरी बाँच्ने कसरी बचाउने भन्ने कुखुरा व्यवसायीको पिर छ’ अवस्थीले भने।
यस्तै जिल्लामा स्थापित भइरहेको व्यवसाय संकटमा परेको तर स्थानीय तहबाट त्यसको संरक्षणका लागि कुनै पहल नभएको कुखुरा व्यवसायी संघका अध्यक्ष गगन सिंह भण्डारीले गुनासो गरे। ‘कृषि पशुपंक्षी पालनमा स्थानीय तहहरुले पनि बजेट बिनियोजन गरिरहेका थिए तर आज कसैको ध्यान यसतर्फ गएको छैन’ उनले भने। यो समयमा मानविय सुरक्षा मात्र नभई मानविय आवश्यकताका स्रोतसाधन पनि संरक्षण गर्नु जरुरी रहेको उनले बताए।
अहिले भइरहेको अनिश्चितकालिन लकडाउनमा अत्यावश्यक सेवा जस्तै बामे सर्दै गइरहेको कुखुराचल्ला व्यवसायलाई पनि राज्यले आवश्यक प्रावधान बनाई सुविधा र सहुलियत दिन नसके व्यवसाय धरासायी हुनुका साथै किसानहरु यस पेशाबाट विस्थापित हुनेमा कुनै शंका छैन्।