सुदूर नेपाललाई विश्वसँग जोड्दै

रोयल बंगाल टाइगर देखिएपछि डडेल्धुराको महाभारत वन क्षेत्रमा पुनः क्यामेरा ट्रयापिङ

२०७७ वैशाख १२, ०४:२२ खबर संवाददाता

धनगढी:  डडेल्धुराको महाभारत वन क्षेत्रमा दोस्रो चरणको क्यामेरा ट्रयापिङ सुरु भएको छ। उक्त क्षेत्रमा पहिलोपटक रोयल बंगाल टाइगर(पाटेबाघ) देखिएपछि दोस्रो चरणको क्यामेरा ट्रयापिङ सुरु गरिएको हो। 

जिल्लाको महाभारत क्षेत्रको भागेश्वर करिडोरमा समुद्री सतहदेखि २५०० मिटरको उचाइमा पाटेबाघको इमेज ट्रयाप भएको थियो। ६ मार्चदेखि ६ अप्रिलसम्म महाभारत वन क्षेत्रमा वन्यजन्तुको अध्ययन गर्ने क्रममा पाटेबाघ क्यामेरा ट्रयापिङमा परेको थियो। वन विभाग, विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) संरक्षणकर्मीहरूसँग भेरिफाइ गर्दा नेपालको त्यति उचाइमा पाटेबाघ भेटिएको पहिलो घटना भएको पुष्टि भएको थियो।

दोस्रो चरणको अध्ययन गर्नको लागि ३० जोडी क्यामेरा जडान गरिएको जनाइएको छ। तराइ तथा भूपरिधि कार्यक्रम, विश्व वन्यजन्तु कोष र डिभिजन वन कार्यालय डडेल्धुराको आयोजनामा भागेश्वर करिडोरमा पाटेबाघलगायत अन्य वन्यजन्तुको उपस्थितिको दोस्रो चरणको अध्ययन गर्नको लागि क्यामेरा जडान गरिएको हो।

यस पटकको अध्ययन परशुरामधाम सव डिभिजनअन्तर्गत पर्ने वनक्षेत्र (महाकाली नदीको किनारासम्म र साविकको शीर्ष गाविस) र भागेश्वर सव डिभिजनअन्तर्गतको रुपाल क्षेत्रसम्म गरिने डिभिजन वन कार्यालय डडेल्धुराका वन अधिकृत विष्णुप्रसाद आचार्यले जानकारी दिए।

उक्त कार्यका लागि वन कार्यालयको तर्फबाट ५ जना सहयोगी र तराइ तथा भूपरिधि आयोजनाको तर्फबाट ५ जना क्यामेरा ट्रयापिङ प्राविधिक खटाइएको उनले बताए। उनका अनुसार शुक्रबारदेखि एक महिनाको लागि ३० जोडी क्यामेरा राखिनेछन्।

उनले ट्रयापिङ गर्नमा स्थानीय सरकारका प्रतिनिधि, स्थानीय सुरक्षा निकाय, राजनीतिक दल, संचारकर्मी, नागरिक समाज, सम्बन्धित सामुदायिक वनका उपभोक्ताहरुलाई सहयोग गर्न आग्रह समेत गरेका छन्।

कमेन्ट लोड गर्नुस