चिसापानीमा स्वास्थ्य सहायता कक्ष पनि हट्यो, परीक्षण बिना दैनिक सयौँ सुदूरपश्चिम भित्रिदै
धनगढी: पूर्वी नेपालबाट झण्डै २ हजार नागरिक परीक्षण बिनै सुदूरपश्चिम प्रदेशमा प्रवेश गरेका छन्।
एक महिनाको अवधीमा कैलालीको चिसापानी हुँदै एक हजार ९ सय ३३ जना कोरोना भाइरसको सामान्य परीक्षण बिना सुदूरपश्चिम प्रदेशमा प्रवेश गरेका हुन्। ती मध्ये एक हजार ६ सय ७७ पुरुष र दुई सय ५६ महिला रहेको जिल्ला प्रहरी कार्यालय कैलालीको तथ्यांक छ।
सामान्य ज्वरोसमेत परीक्षण नगरि प्रवेश गरेका उनीहरुका कारण सुदूरपश्चिममा कोरोनाको जोखिम बढेको चिकित्सकहरुले बताएका छन्। सामान्य न्ज्वरो समेत परीक्षण नगरिनुले जोखिम बढाएको सेती प्रादेशिक अस्पतालका आकस्मिक विभाग प्रमुख डाक्टर जगदिश जोशीले बताए।
पूर्वी नेपालबाट दैनिकजसो नागरिकहरु सुदूरपश्चिम प्रवेश गर्दै आएकाले उक्त स्थानमा स्वास्थ्य सहायता कक्ष आवश्यक रहेको उनले बताएका छन्। तर उक्त क्षेत्रमा स्थापना गरिएको स्वास्थ्य सहायता कक्ष हटाइएको छ।
लकडाउन हुुनुपूर्व लम्कीचुहा नगरपालिकाले कर्णाली चिसापानीमा स्वास्थ्य सहायता कक्ष स्थापना गरेको थियो। तर चैत ११ गते लकडाउन गरिएपछि स्वास्थ्य सहायता कक्ष हटाइएको नगरपालिका प्रमुख महावेद बजगाईले जानकारी दिए। लकडाउनपछि कुनै पनि नागरिक नआउँने भन्दै सहायता कक्ष हटाइएको उनले बताए।
पुनः स्वास्थ्य सहायता कक्ष स्थापनाको नगरपालिकासँग योजना नभएको समेत बजगाईले बताए। स्थानीय तहले निर्माण गरेका क्वारेन्टाइनमा अन्य जिल्लाबाट आएकाहरुलाई राखिने भएकाले जोखिम नभएको प्रमुख बजगाईको दावी छ।
तर बुधबार मात्रै पूर्वी जिल्लाबाट डडेल्धुरा पुगेका ११ जनालाई त्यहाँको आलिताल गाउँपालिकाले क्वारेन्टाइनमा नराखी घर पठाएको थियो।