कांग्रेस डडेल्धुराद्वारा पिपिई सेट र ज्वरो नाप्ने थर्मागन सहयोग
धनगढी: नेपाली कांग्रेस डडेल्धुराले जिल्लामा व्यक्तिगत सुरक्षा सामग्री(पिपिई) र ज्वरो नाप्ने थर्मागन सहयोग गरेको छ। कोरोना भाइरसका कारण विश्वव्यापी महामारी फैलिरहेका बेला कांग्रेस डडेल्धुराले त्यसको नियन्त्रण तथा रोकथामका लागि सहज होस भन्दै जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय तहलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ।
बिहिबार सुदूरपश्चिम प्रदेशका सांसद एवं नेपाली कांग्रेस डडेलधुराका सभापति कर्णबहादुर मल्लले जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख आशुतोष श्रेष्ठलाई ८ थान पिपिई हस्तान्तरण गरेका छन्।
त्यस्तै बुधबार उनले एउटा पनि थर्माेगन नभएको गन्यापधुरा गाउँपालिकामा दुई थान थर्माेगन उपलब्ध गराएका छन्। आवश्यकता अनुसार हाललाई अन्य स्थानीय तहलाई समेत एक/एक थान थर्माेगन उपलब्ध गराउनसक्ने उनले बताए। सोहीदिन सांसद मल्लले जिल्लाका विभिन्न स्थानमा स्थानीय लगायत सुरक्षाकर्मीहरुलाई केही थान मास्क र पञ्जा उपलब्ध गराएका छन्।
साथै नेपाली कांग्रेस डडेल्धुराले सूचना जारी गर्दै स्वास्थ्य सुरक्षा सामाग्री मास्क, पञ्जा नपुगेका तथा पाउन नसकेकालाई सम्पर्क गर्न अनुरोध समेत गरेको छ।
स्वास्थ्य सुरक्षा सामाग्री वितरणमासुदूरपश्चिम प्रदेशसभा सांसद कर्ण बहादुर मल्ल स्वयं खटिइएका छन्।