प्रगतिशिल युवा समाज र वल्ड भिजन इन्टरनेशनल नेपालद्वारा बझाङमा राहत हस्तान्तरण
प्रताप ओली, बझाङ: प्रगतिशील युवा समाज र वल्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त साझेदारीमा बझाङका विभिन्न गाउँपालिका तथा नगरपालिकालाई राहत हस्तान्तरण गरिएको छ।
प्रगतिशील युवा समाज र वल्र्ड भिजन इन्टरनेशनल नेपालको कार्यक्षेत्र रहेका तीन स्थानीय तह केदारस्युँ गाउँपालिका, छबिसपाथिभेरा गाउँपालिका र जयपृथ्वी नगरपालिकालाई ३० क्वीन्टल चामल, ३ क्वीन्टल नुन, १५० लिटर तेल र २ क्वीन्टल दाल राहत स्वरुप हस्तान्तरण गरिएको प्रगतिशिल युवा समाजका प्रतिनिधि बिजयराज जोशीले बताए।
कोरोना भाइरस (कोभिड–१९) रोग संक्रमणको जोखिम न्यूनीकरणको लागि सरकारले लकडाउन जारी गरेपछि असहाय, विपन्न तथा गरीब परिवारलाई खाद्यान्नको अभाव हुन थालेपछि प्रगतिशिल युवा समाज र वल्र्ड भिजन इन्टरनेशनलले पालिकाद्वारा राहत वितरण गरेका हुन्।
जोशीका अनुसार केदारस्युँ गाउँपालिकालाई साढे ७ क्वीन्टल चामल, ५० केजी दाल, साढे ३७ लिटर तेल, ७५ केजी नुन गाउँपालिका अध्यक्ष इन्द्र भण्डारी र उपाध्यक्ष निशा धामीलाई, छबिसपाथिभेरा गाउँपालिकालाई साढे ७ क्वीन्टल चामल, ५० केजी दाल, साढे ३७ लिटर तेल, ७५ केजी नुन गाउँपालिकाका उपाध्यक्ष राधिका रताला जोशीलाई र जयपृथ्वी नगरपालिकालाई १५ क्वीन्टल चामल, १ क्वीन्टल दाल, ७५ लिटर तेल, १५० केजी नुन मेयर विरेन्द्र खड्कालाई हस्तान्तरण गरिएको हो।
उक्त हस्तान्तरित राहत केदारस्युँ गाउँपालिकाका २५ परिवार, छबिसपाथिभेरा गाउँपालिका २५ परिवार र जयपृथ्वी नगरपालिकाका ५० परिवारले पाउने गरि दुबै संस्थाले मंगलबार पालिकालाई राहत सामाग्री उपलब्ध गराएका हुन्।
प्रति परिवारलाई ३० किलो चामल, ३ प्याकेट तेल, ३ किलो नुन र २ किलो दाल पाउने गरेर पालिकालाई राहत सामग्री हस्तान्तरण गरिएको हो। पालिकाहरुले प्रगतिशिल युवा समाज र वल्र्ड भिजन इन्टरनेशनल नेपालले उपलब्ध गराएको राहत सामाग्री आफ्नो पालिकामा रहेका अति गरिब, हातमुख जोर्न समस्या भएका तथा विपन्न परिवारलाई वितरण गर्ने जनाएका छन्।
यस्तै यता छबिसपाभिभेरा गाउँपालिकाले प्रगतिशिल युवा समाज र वल्र्ड भिजन इन्टरनेशनल नेपालले उपलब्ध गराएको २५ घरपरिवारलाई पुग्ने राहतमा थप आफ्नो तर्फबाट थप गरी छबिसका ४२ घरपरिवारलाई वितरण गरिने जनाएको छ। गाउँपालिकाको तथ्याङ्कमा राहत पाउने परिवार ४२ भएकाले प्रगतिशिल युवा समाज र वल्र्ड भिजन इन्टरनेशनल नेपालको राहतमा थप गरेर राहत वितरण गरिएको उपाध्यक्ष राधिका रताला जोशीले बताइन्।
गाउँपालिकाले आफ्नो तर्फबाट ३ क्वीन्टल चामल, २५ केजी दाल, २५ केजी नुन र २४ लिटर तेल थप गरको उपाध्यक्ष रतालाको भनाई छ। गाउँपालिकाले मंगलबार वडा नम्बर १ का ७ , वडा नम्बर ३ का ७, वडा नम्बर ४ का ६ र वडा नम्बर ५ का ६ परिवार तथा फरक क्षमता व्यक्तिलाई राहत वितरण गरेको छ भने बाँकी वडामा बुधबार वितरण गरिने जनाइएको छ।