बैतडीको सुर्नयाले घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्दै
सुर्नया गाउँपालिकाले घरमा पुगी सामाजिक सुरक्षा भत्ता वितरण शुरुआत गरेको छ। गाउँपालिकाको वडा नं ३ को कार्यालयले घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको हो।
कोभिड–१९ को जोखिम हुन नदिन ‘लकडाउन’ जारी रहेपछि घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको वडा नं ३ का वडाध्यक्ष दिलाराम भट्टले जानकारी दिए। गाउँपालिकाले दोस्रो चौमासिकका सामाजिक सुरक्षाभत्ता निकासा गरेपछि प्रत्येक टोलमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको हो। पहिलो दिन बिजुल टोलमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालिएको हो।
सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रममा वडाध्यक्षसँगै गाउँपालिका उपाध्यक्ष लीला विष्ट, वडा सचिव दानसिंह विष्ट, सुरक्षाकर्मी लगायतको सहभागिता रहेको थियो। यसपछि बाँस र गोयलीमा सामाजिक सुरक्षा भत्ता वितरण गर्ने तयारी गरिएको छ भने वैशाख ९ गते डुङरीमा सामाजिक सुरक्षा भत्ता वितरण गरिने वडा अध्यक्ष भट्टले जानकारी दिए।
वैशाख १० गते तडीगाउँ र साविकको भौनेलीको वडा नं २ मा सामाजिक सुरक्षा भत्ता वितरण गरिने बताइएको छ। सुर्नया गाउँपालिकाले दोस्रो चौमासिक सामाजिक सुरक्षा भत्ता निकासा गरिसकेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत धनबहादुर चन्दले जानकारी दिए। –रासस