सोमबार पाँच अर्ब २० करोड बराबरको ट्रेजरी बिल बिक्री हुने
नेपाल राष्ट्र बैंकले सोमबार रु पाँच अर्ब २० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ। केन्द्रीय बैंकका अनुसार बैंकले बोलकबोल प्रक्रियामार्फत उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको हो।
बैंकले कूल ९१ दिने अवधिका लागि रु २० करोड बराबरको टे«जरी बिल बिक्री गर्न लागेको जनाएको छ। सो बिल आगामी साउन ६ गते परिपक्व हुनेछ। यस्तै पाँच अर्ब बराबरको टे«जरी बिल भने १८२ दिनका लागि बिक्री गर्न लागिएको हो। उक्त परिमाणको टे«जरी बिल आगामी कात्तिक ४ गते परिपक्व हुनेछ।
बैंकले यसअघि गत चैत ३० गते पनि टे«जरी बिल बिक्री गरेको थियो।
कोरोनासम्बन्धी बीमा योजना शुरु
बीमा सेवा प्रदायकहरुको नियमनकारी निकाय बीमा समितिले ल्याएको नयाँ योजनाको आजदेखि कार्यान्वयन शुरु भएको छ। समितिले कोभिड–१९ सम्बन्धी बीमा लेख आजदेखि औपचारिक रुपमा शुरु गरेको हो। समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले कोभिड–१९ रोगसम्बन्धी पहिलो बीमा लेख खरीद गरी औपचारीक शुरुआत गर्नुभएको हो।
अध्यक्ष चापागाईंका अनुसार कोरोना भाइरस महामारीका रुपमा आएको र सानो रकमबाट भए पनि सङ्क्रमणमा परेका व्यक्तिलाई आर्थिक सहयोग होस् भन्ने उद्देश्यले बीमा लेख जारी गरिएको हो। कोरोना भाइरस सङ्क्रमणपछिको उपचार सरकारले गर्ने भए पनि सङ्क्रमित व्यक्तिको आर्थिक अवस्थालाई ध्यानमा राखेर बीमा लेख जारी गरिएको हो।
नेपाली नगारिक, परिवार एवम् संस्थाले आफ्ना सदस्यको व्यक्तिगत वा समूहिक बीमा गर्न सक्ने उक्त योजनामा समावेश छ। लकडाउनको अवस्थामा पनि सजिलै ‘पोलिसी’ खरीद गर्न सकिने र त्यसका लागि मेडिकल र वित्तीय ‘अन्डरराइटिङ’को आवश्यकता नपर्ने व्यवस्था रहेकाले इच्छुकले अनलाइनमार्फत पनि सो योजना खरीद गर्न सकिने छ।
इन्टरनेटको पहुँच नभएको ठाउँमा समेत निर्जीवन बीमा कम्पनीले काम गर्दै आएका कृषि बीमा तथा घुम्ती बीमामार्फत पनि योजना खरीद गर्न सकिने व्यवस्था मिलाइएको छ। समितिले बीमालेखलाई दुई समूहमा विभाजन गरिएको छ। पहिलो बीमालेख रु एक लाख बराबरको छ। सो योजना खरीदका लागि प्रतिव्यक्ति एक हजार लाग्नेछ।
पारिवार वा संस्थागत रुपमा बीमा गर्ने भए थप ६०० लाग्नेछ। दोस्रो योजना ५० हजार बराबरको छ। यो योजना खरीदका लागि प्रतिव्यक्ति ५०० र पाँच परिवार वा संस्थाको सम्पूर्ण सदस्यको सामूहिक बीमाका लागि थप प्रतिव्यक्ति ३०० लाग्नेछ। रासस