सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछामका दश स्थानीय तहमा दुई करोड बढी सहयोग प्राप्त

२०७७ वैशाख ६, ०४:४२ खबर संवाददाता

टेकराज भण्डारी, अछाम :  राहत वितरणका लागि अछामका स्थानीय तहहरुले प्रदेश सरकारबाट २ करोड बढी रकम प्राप्त गरेका छन्। जिल्लाका १० वटा स्थानीय तहहरुले राहत वितरणका लागि प्रदेश सरकारलाई उपलब्ध गराएको विवरणका आधारमा २ करोड ११ लाख ४० हजार रकम प्राप्त गरेका हुन।  

स्थानीय तहका गरिब, असहाय र विपन्न परिवारलाई राहत प्रदान गर्ने भन्दै गत चैत्र २७ गतेको सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रीपरिषदले गरेको निर्णय अनुसार प्रदेशका ८८ वटै स्थानीय तहलाई रकम पठाउने निर्णय गरेको थियो।प्रदेशका सबै स्थानीय तहलाई प्रदेश सरकारले स्थानीय तहको कोरोना राहत कोषमा प्रदेश सरकारको तर्फबाट करिब १६ करोड बजेट पठाएको प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले बताए।

राहत वितरणका लागि प्रदेश सरकारले मापदण्ड र कार्यविधि तयार पारेको जनाइएको छ।  आफ्नो स्थानीय तहको राहत कोषमा रकम आइसकेको र मापदण्ड र कार्यविधि अनुसार वितरण गरिने मंगलसैन नगरपालिकाका प्रमुख पदम बोहराले बताए। 

अछामको मंगलसेन नगरपालिकाले सबैभन्दा बढी २९ लाख ८० हजार रकम प्राप्त गरेको छ। यसैगरी साँफेबगर नगरपालिकाले २४ लाख ६० हजार, कमलबजार नगरपालिकाले २१ लाख ६० हजार र पञ्चदेवल–विनायक नगरपालिकाले राहत वितरणको लागि २३ लाख रकम प्राप्त गरेका छन्। 

यसैगरी चौरपाटी गाउँपालिकाले २२ लाख ३० हजार, मेल्लेख गाउँपालिकाले १७ लाख ५० हजार, बान्निगढी जयगढ गाउँपालिकाले १४लाख ५० हजार, रामारोशन गाउँपालिकाले १८ लाख ५० हजार, तुर्माखाँद गाउँपालिकाले २१ लाख र ढकारी गाउँपालिकाले १८ लाख ६० हजार रकम प्राप्त गरेको सुदूरपश्चिम प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्रीका स्वकीय सचिव आर्दश साउँदले जानकारी दिए। 

कमेन्ट लोड गर्नुस