प्रदेश सरकारद्वारा बैतडीका स्थानीय तहलाई डेढ करोड सहयोग
विनोद सिँह विष्ट, बैतडी : सुदूरपश्चिम प्रदेश सरकारले बैतडीका १० वटै स्थानीय तहमा एक करोड ५० लाखभन्दा बढी पठाएको छ। जारी लकडाउनका कारण समस्या परेका नागरिकलाई राहत दिनका लागि एक करोड ६० लाख ३० हजार पठाएको हो।
मन्त्रिपरिषद् बैठकले केही दिनअघि गरेको निर्णयअनुसार असहाय, गरिब, विपन्न र ज्यालादारी गुमाएका परिवारलाई राहत दिनका लागि प्रदेश सरकारले रकम पठाएको प्रदेशसभा सदस्य लीलाधर भट्टले जानकारी दिए। प्रदेश सरकारले विपन्न, गरिब, असहाय र ज्यालादारी गुमाएका परिवारलाई प्रतिपरिवार तीन हजारका दरले राहत दिने निर्णय गरेको थियो।
सोही निर्णयअनुसार दशरथचन्द नगरपालिकामा २० लाख, दोगडाकेदार गाउँपालिकामा रु १६ लाख, पुर्चौंडी नगरपालिकामा २६ लाख २० हजार, पाटन नगरपालिकामा १७ लाख २० हजार र मेलौली नगरपालिकामा १३ लाख ७० हजार राहत रकम पठाइएको छ।
यस्तै शिवनाथ गाउँपालिकामा ११ लाख ९० हजार, पञ्चेश्वर गाउँपालिकामा १२ लाख २० हजार, सिगास गाउँपालिकामा १५ लाख ८० हजार, डिलाशैनी गाउँपालिकामा १५ लाख ४० हजार र सुर्नया गाउँपालिकामा ११ लाख ९० हजार राहत रकम पठाएको छ।
प्रदेश सरकारले राहत वितरणसम्बन्धी कार्य्विधिसमेत ल्याइसकेको र सोही कार्य्विधिअनुसार राहत रकम वितरण हुने जनाइएको छ। स्थानीय तहले पनि स्थानीयस्तरमा राहत वितरण गर्दै आएका छन्। प्रदेश सरकारले सुदूरपश्चिमका ८८ वटै स्थानीय तहमा रकम पठाइसकेको जनाएको छ। –रासस