सुदूर नेपाललाई विश्वसँग जोड्दै

राउटे बस्तीमा लकडाउन प्रभावः गिठा र कन्दमूल खोजेर गुजारा

२०७७ वैशाख ६, ०२:४१ खबर संवाददाता

भक्त गाहा मगर, डडेल्धुरा:  लकडाउनको प्रत्यक्ष मारमा डडेल्धुराको राउटे समुदाय परेको छ। जिल्लाको परशुराम नगरपालिका– १२ आमपानीमा बस्दै आएका राउटेहरु अहिले गिठा, तरुल, भ्याकुर र कन्दमूल खोज्न जंगलतिर धाउने गरेका छन्। 
दैनिक मजदुरी गरेर जिविकोपार्जन गर्दै आएका उनीहरु सम्पूर्ण काम ठप्प भएपछि छाक टार्न जंगली खानेकुराको खोजी गर्न थालेका हुन। करिब ६० परिवार बस्दै आएको आमपानीका राउटे अहिले गाउँदेखि ४ किलोमिटरमाथि पर्ने चुरे क्षेत्रमा जाने गर्दछन। आर्थिक अभावका कारण भोकमारी बढेपछि उनीहरु जंगलमा गएर खानेकुरा खोज्न बाध्य भएका हुन।

परशुराम नगरपालिकाले राहत स्वरुप एक परिवार १० किलो बराबरको चामल लगायतका खाद्य वस्तु दिएपनि त्यो आफुहरुका लागि प्रयाप्त नभएको चन्द्र सिँह राउटेले बताए। ‘खाद्यान्न त पाएका थियौं, तर लकडाउन लम्बिएपछि त्यो खाद्यान्न सकिएकाले हामी अहिले जंगली खानकुरा खोज्न जान्छौ’ उनले भने। 

उता परशुराम नगरपालिकाका नगरप्रमुख भीमबहादुर साउदले भने आफुहरुले राउटे समुदाय लगायत नगरपालिका भित्रका सबै विपन्न परिवारहरुलाई पहिलो चरणको राहत वितरण गरिसकेको र अब फेरि अर्को राहतको कार्यक्रम ल्याउने तयारी गरिरहेका बताएका छन्।

केहि दिनदेखि जंगलमै बसोवास गरिरहेका राउटे परिवारलाई अहिले स्थानीय प्रशासनको सहयोगमा परशुराम नगरपालिकाले बस्तीमै फर्काएको छ।

कमेन्ट लोड गर्नुस