संक्रमित महिलासंगै विरगञ्जबाट कैलाली आएका थिए २६ जना
धनगढी : कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्वर १ कि महिलामा कोरोनाको संक्रमण पुष्टि भएसंगै उनीसंगै आएका अन्यलाई क्वारेन्टाईनमा ल्याउन थालिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार ति महिलासंगै विरगञ्जबाट २६ जना कैलाली आएका थिए।
‘लम्कीचुहा नगरपालिका वडा नम्वर १ का १७ जना, वडा नम्वर ८ का चार जना र बर्दगोरी गाउँपालिका वडा नम्वर १ का ५ जना संक्रमित महिलासंगै आएका थिए,’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले भने, ‘लम्कीचुहाका १७ जनालाई फेरी क्वारेन्टाईनमा ल्याईएको छ। वडा नम्वर ८ का थप चार जना र बर्दगोरीया गाउँपालिका वडा नम्वर १ का ५ जनालाई ल्याउने तयारी भईरहेको छ।’
उनका अनुसार कैलाली पुगेका २६ जना मध्ये २२ जना संक्रमितका आफन्त थिए। परीवारका सदस्य मात्रै चार जना थिए। संक्रमित महिलालाई सेती अस्पतालमा भर्ना गरिएको छ भने अन्य तीन जनालाई लम्की बहुमुखी क्याम्पसमा रहेको क्वारेन्टाईनमा राखिएको छ।
विरगञ्जबाट ३४ जना आएका थिए भने त्यस्मा सुर्खेतका ५ तथा अर्घखाँची, दाङ र दैलेखका १÷१ जना आएका थिए। कैलालीमा थप संक्रमित भेटिएसंगै सुदूरपश्चिममा संक्रमितको सङख्या ५ पुगेको छ भने नेपालमा १३ पुगेको छ।