कैलालीमा लकडाउनको मौका छोपी काठ तस्करी गर्ने पाँचजना पक्राउ
कैलालीमा लकडाउनको मौका छोपी काठ तस्करी गर्ने पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ४ को गोदावरी राष्ट्रिय वनमा अवैध रुपमा काठ चिरान भईरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी र डिभिजन वन कार्यालय धनगढीको संयुक्त टोलीले पाँचजनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा गोदावरी नगरपालिका वडा नम्बर २ का २१ वर्षीय भानु ओली, १८ वर्षीय ललीत ओली, २७ वर्षीय कमल आले, २६ वर्षीय अर्जुन वोहरा र १८ वर्षीय रुपेश थापामगर रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले बताए।
उनीहरुलाई रुख काटी चिरान काठ ओसारपसार गरिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक बस्नेतले बताए। वनमा दुई थान सालको काठका गोलिया भेटिएपछि उनीहरुको घर खानतलासी समेत गरिएको थियो।
सो क्रममा रुपेश थापामगरको घरमा लुकाईछिपाई राखेको अवस्थामा चिरान कडी काठ समेत गरी ९१ दशमलव ८३ क्युफिट काठ बरामद गरिएको प्रहरीले जनाएको छ।
उनीहरुलाई थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय धनगढीको जिम्मा लगाईएको छ।