धनगढी उप–महानगरपालिकाका प्रवक्ताद्वारा एफएममा आक्रमणको प्रयास
धनगढी : धनगढी उपमहानगरपालिकाका प्रवक्ता समेत रहेका वडा नम्बर १ का वडा अध्यक्ष सन्तोष मुडभरी र उनका समर्थकहरुले रेडियो धनगढीको कार्यालयमा आक्रमणको प्रयास गरेको आरोप लागेको छ। एफएमका कार्यकारी निर्देशक हरी जोशीका अनुसार ६ जनाको समूहमा आएका वडा अध्यक्षले कार्यालय घेराउ गर्दै आक्रमणको प्रयास गरेका हुन्।
‘एफएममा कार्यरत सञ्चारकर्मी नवराज धानुकले सञ्चालन गर्दै आएको कार्यक्रम तातो बहसमा राहत वितरणमा भ्रष्टाचार गरेको भन्ने रिपोर्ट प्रशारण भएकै भरमा वडा अध्यक्ष सहितको समूहले कार्यालय घेराउ ग¥यो। धानुकमाथि आक्रमणको समेत प्रयास भयो।’ जोशीले भने।
उनले प्रवक्ता मुडभरीमाथि कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिने तयारी भईरहेको बताए। यता मुडभरीले भने १६ क्वीन्टल चामल लुकाएको भन्दै कार्यक्रम प्रस्तोता धानुकले पटक–पटक भ्रम फैलाएको र चरित्र हत्या गर्न खोजेको बताए। उनले आज सञ्चारकर्मी धानुकसंग कुरा गर्न कार्यालयमा जान खाजेको बताउँदै आक्रमण र घेराउ नगरेको दावी गरे।