महाकाली अस्पताललाई अक्सिजन ग्यास सिलिण्डर सहयोग
कञ्चनपुरको भीमदत्त नगरमा रहेको महाकाली अस्पताललाई कोरोना भाइरस सङ्क्रमणलाई मध्यनजर गरी अक्सिजन ग्यास सिलिण्डर सहयोग गरिएको छ। लायन्स क्लब अफ कञ्चनपुरले अस्पताललाई २५ ग्यास सिलिण्डर सहयोग गरेको हो। लायन्स क्बलले केही दिनअघि नगरपालिकाको छलफल कार्यक्रममा कोरोना भाइरस सङ्क्रमणलाई मध्यनजर गरी अस्पतालमा अक्सिजन अभाव हुन नदिन १०० थान सिलिण्डर सहयोग गर्ने प्रतिबद्धता गरेअनुरुप पहिलो चरणमा अस्पताललाई क्लबले २५ ग्यास सिलिण्डर सहयोग गरेको हो।
अन्य ७५ सिलिण्डर केही दिनमै सहयोग गरिने क्लबका अध्यक्ष माधवप्रसाद जोशीले बताए। अस्पतालका अध्यक्ष कृष्णदत्त जोशीले क्लबको सहयोगपछि अस्पतालमा अक्सिजन ग्यासको अभाव नहुने बताए। “कोरोना महामारीमा ग्यास अभाव हुने चिन्ता थियो। अब त्यस्तो हुँदैन। शनिबार २५ सिलिण्डर सहयोग गरिएको छ, अर्काे दिन बाँकी सहयोग हुनेछ”, अध्यक्ष जोशीले भने। नगरपालिकाले समेत केही महिनाअघि अस्पताललाई अक्सिजन खरिदका लागि आर्थिक सहयोग गरेको थियो। रासस