सुदूर नेपाललाई विश्वसँग जोड्दै

२० वटा भेन्टिलेटर खरिद गर्ने सुदूरपश्चिम सरकारको निर्णय

फाईल तस्बिर
फाईल तस्बिर
२०७६ चैत्र २७, ०५:४१ खबर संवाददाता

सुदूरपश्चिमका जिल्ला अस्पतालका लागि २० वटा भेन्टिलेटर खरिद गर्ने निर्णय गरिएको छ। प्रदेश सरकारको आज बसेको मन्त्रीपरिषद् बैठकले सबै जिल्ला अस्पतालका लागि २० वटा भेन्टिलेटर खरिद गर्ने निर्णय गरेको हो।

सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाहले जिल्ला अस्पतालका लागि २० वटा भेन्टिलेटर खरिद गर्ने निर्णय गरेको जानकारी दिए। विश्व व्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरसका गम्भीर बिरामीको उपचारका लागि भेन्टिलेटर अतिआवश्यक भएपनि सुदूरपश्चिमका अस्पतालमा अभाव छ।

अहिले सेती प्रादेशिक अस्पतालमा दुईवटा भेन्टिलेटर सहित पाँच शैयाको आईसियु सेवा सञ्चालनमा रहेपनि कोरोनाका विरामीलाई उपचार गर्न नमिल्ने भएकाले थप दुई वटा खरिदको प्रक्रिया थालिएको छ। महाकाली अस्पतालमा पनि एउटा भेन्टिलेटर रहेकोमा थप एउटा खरिदको प्रक्रिया थालेको जनाएको छ।

सेतीलाई निक साईमन इन्स्टिच्युटले पनि अनुदानमा थप दुई वटा भेन्टिलेटर उपलब्ध गराएको छ। अस्पतालले अहिले खरिदको प्रक्रिया थालेको दुई र अनुदानका समेत गरी सेतीमा चार वटा भेन्टिलेटर थप हुनेछन् भने महाकालीमा दुई वटा पुग्नेछन्।

जिल्ला अस्पतालका लागि समेत खरिद भए प्रदेशभर २८ वटा भेन्टिलेटर पुग्ने भएकाले कोरोना भाईरसको महामारी फैलिएमा गम्भीर विरामीको उपचारमा सहज हुने विश्वास गरिएको छ।

 यसअघि प्रदेश स्वास्थ्य आपूर्ती व्यवस्थापन केन्द्रले १५ वटा भेन्टिलेटर र आईसियु खरिदका लागि सामाजिक विकास मन्त्रालयलाई प्रस्ताव गरेको थियो। 

कमेन्ट लोड गर्नुस