सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोभिड– १९ः सुदूर पहाडका सांसदद्वारा सरकारको ध्यानाकर्षण

२०७६ चैत्र २७, ०१:३९

कोरोना भाइरसको संक्रमणको उच्च जोखिममा रहेका सुदूरपश्चिम प्रदेशका प्रतिनिधिसभा सदस्यले बुधबार कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि सरकारको ध्यानाकर्षण गराएका छन्। सुदूरपश्चिमका पहाडी जिल्ला बैतडी, बझाङ र दार्चुलाबाट निर्वा्चित प्रतिनिधिसभा सदस्यहरुले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि सरकारको ध्यानाकर्षण गराएका हुन। 

उपप्रधानमन्त्री तथा रक्षामन्त्री एवं कोभिड–१९ रोकथाम उच्चस्तरीय समितिका संयोजक ईश्वर पोखरेल र स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई भेटेर सुदूरका पहाडी जिल्लाहरुमा कोरोना रोकथामका लागि आवश्यक कदम चाल्न उनीहरूले आग्रह गरेका हुन।

बैतडीबाट निर्वाचित सांसद दामोदर भण्डारी, दार्चुलाका गणेशसिंह ठगुन्ना र बझाङका भैरवबहादुर सिंहले दुवै मन्त्रीलाई भेटी भारतबाट फर्केका नागरिकहरुको थ्रोट स्वाब परीक्षणका लागि आवश्यक प्रक्रिया चाल्न र सीमावर्ती नाकामा रहेका नेपालीहरुलाई अविलम्ब स्वदेश फर्काउने विषयमा सरकारको ध्यानाकर्षण गराएको सांसद भण्डारीका स्वकीय सचिव लोकेन्द्र भण्डारीले जानकारी दिए। 

यस्तै सुदूरपश्चिम प्रदेशमा तत्काल आवश्यक मेडिकल व्यवस्था गर्नुपर्ने, थप जनशक्ति पठाउनुपर्ने, भेन्टिलेटरको थप व्यवस्थापन गर्नुपर्ने तथा थप उपकरण र स्वास्थ्य सामग्री उपलब्ध गराउनुपर्ने उनीहरूले माग गरेका हुन। भेटका क्रममा दुवै मन्त्रीले सुदूरपश्चिमका पहाडी जिल्लामा कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि सङ्घीय सरकारले आवश्यक कदम चाल्ने आश्वासन दिएका थिए। 

यसैबीच नेपाली सेनाको हेलिकोप्टरमार्फत स्वास्थ्यकर्मीको टोली आएर आज बैतडी तथा डडेल्धुराका क्वारेन्टाइनमा बसेका नागरिकहरुको स्वाब सङ्कलन गर्ने सांसद भण्डारीले बताए। देशैभर भेटिएका नौ कोरोना सङक्रमितमध्ये चार जना सुदूरपश्चिम प्रदेशका रहेका छन्। –विनोदसिँह विष्ट/रासस
 

कमेन्ट लोड गर्नुस