धनगढीमा उपचाररत चार जना कोरोना संक्रमितलाई भेटेका ४२ जना सम्पर्कमा
धनगढी: धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत चार जना कोरोना संक्रमितको ‘कन्ट्याक्ट ट्रेसिङ’ सकिएको दावी गरिएको छ। सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिंफिङमा यस्तो दावी गरेको हो।
सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले चारै जनाको सम्पर्कमा रहेका व्यक्तिको खोजी सकिएको दावी गरे। ‘चार जना कोरोना संक्रमितको सम्पर्कमा ४२ जना आएको भेटियो। उनीहरु सबैसंग हामीले कुरा गरिसकेका छौँ। कसैमा पनि कोरोनाको संक्रमण देखिएको छैन्।’
दुबईबाट आएका धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षिय युवक, उनकी भाउजु, भारतबाट लम्की आएका २१ बर्षिय युवक र भारतबाट कञ्चनपुरको बेतकोट आएका ४१ बर्षिय युवकमा कोरोनाको संक्रमण देखिएको थियो।
संक्रमितले दिएको जानकारीका आधारमा ४२ जनालाई सम्पर्कमा ल्याएको स्वास्थ्य महाशाखा प्रमुख कार्कीले बताए। तर उनीहरुले यात्राका क्रममा भेटेका व्यक्तिलाई भने सम्पर्कमा ल्याउने प्रयास भएको छैन्। पहिलो संक्रमित धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षिय युवकले यात्रा गर्दा उनको सम्पर्कमा रहेका व्यक्तिलाई समेत अहिले सम्म निगरानीमा राख्न सकिएको छैन्।
ती युवक युएईको दुबई हुँदै भारतको राजधानी दिल्ली र दिल्लीबाट काठमाडौँ हुँदै नेपालगञ्ज भएर स्थलमार्गबाट धनगढी पुगेका थिए। यस्तै संक्रमित २१ बर्षिय युवक गौरीफन्टा नाका भएर हजारको भीडमा नेपाल प्रवेश गरेका थिए।