बाजुराको आइसोलेसन कक्षः न चिकित्सक, न उपकरण
बाजुरा: बाजुराको पूर्वी उत्तरी क्षेत्रमा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा आइसोलेन कक्ष बनाइएको छ। जिल्लाको बुढीनन्दा नगरपालिकामा रहेको उक्त स्वास्थ्य केन्द्रमा आइसोलेसन कक्ष नाम मात्रकै छ, त्यहाँ न चिकित्सक छन्, न उपकरण नै।
सरकारले आइसोलेसन कक्ष निर्माण गरेको स्वास्थ्य संस्थामा एक जना चिकित्सकसहितको टोली, अक्सीजन, बिरामीलाई लगाउने मनिटर, पिपिई सेट, ग्राउन पन्जा, मास्कलगायतको थुप्रै उपकरण आवश्यकपर्छ। तर यहाँ यीमध्ये कुनै नभएको प्राथमिक स्वास्थ्य केन्द्रका निमित्त प्रमुख अहेब सिंह गिरीले बताए। यहाँ केवल दुई बेड छुट्याएर नाम मात्रको आइसोलेसन बनाइएको उनले बताए।
कोल्टीमा उपकरणको नाममा मास्कसमेत नभएको बुढीनन्दा नगरपालिकाका स्वास्थ्य शाखा सहसंयोजक ओमजंग शाहीले बताए। यस्तो महामारीको समयमा स्वास्थ्यकर्मीलाई हौसला प्रदान गर्न भएपनि उपकरणको व्यवस्थापन हुनुपर्ने तर कसैले वास्ता नगरेको उनले बताए।
उक्त क्षेत्रका स्थानीय विशेषगरि रोजगारीको शिलशिलामा देशका अन्य शहर तथा भारतका विभिन्न शहरहरुमा जाने गर्छन्। कोरोनाले विश्वव्यापी महामारीको रुप लिएसंगै भारत लगायत अन्य मुलकबाट बाजुरा आएका थूप्रै स्थानीय अहिले खुलेयाम गाउँबजार डुलिरहेका छन्। स्थानीय तहले क्वारेन्टाइन त स्थापना गरेका छन् तर ती सबै खाली छन्।
स्वास्थ्य केन्द्र नै एकवर्षबाट चिकित्सकविहिन
बाजुराको एक नगरपालिका, तीन गाउँपालिका, कर्णाली प्रदेशका हुम्ला, मुगु र कालिकोट जिल्लाका करिब ५० हजार बढी जनसंख्यालाई कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र सेवा दिँदै आएको छ।
तर प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक नभएको झण्डै एक वर्ष भइसकेको छ। स्वास्थ्य केन्द्रमा कार्यरत डाक्टर गणेश चौधरी गएको साउनमा समायोजन भएर गएपछि कोल्टी स्वास्थ्य केन्द्र चिकित्सकविहिन बनेको छ।
लामो समयदेखि चिकित्सक नहँुदा त्यस क्षेत्रका नागरिकलाई समस्या भएको स्थानीय गोरख सार्कीले बताए। यसबारे जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत्त दयाकृष्ण पन्तले कोल्टी आउने चिकित्सक नै नभेटाएको बताए। ‘सम्बन्धित मन्त्रालयमा सम्पर्क गरेर समस्या बताएको छु’ उनले भने।
त्यस्तै प्रतिनिधि सभाका सदस्य लालबहादुर थापाले दुई महिना पहिले कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमै पुगेर स्वास्थ्य केन्द्रको अवस्था अवलोकन गरेर चिकित्सक ल्याउन पहल गर्ने बताएका थिए। एक वर्षसम्म चिकित्सक नआएको भन्दै स्थानीय प्रदिपराज जैशी प्रश्न गर्छन, ‘प्रदेश सांसद बलदेब रेग्मी त्यसै नगरपालिकाका हुन उहाँले पनि पहल भइरहेको भन्छन्। सबैले एक वर्षसम्म पहलैपहल भएको मात्र भन्छन् तर चिकित्सक आएका छैनन्, कस्तो पहल हो ?