सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी पुगेको टोली कोरोना परिक्षणका लागि क्वारेन्टाईन जादै

२०७६ चैत्र २५, ११:४७ खबर संवाददाता

कोरोना भाईरस(कोभिड–१९) को  र्‍यापिड टेष्ट अथात् द्रुत परिक्षणका लागि धनगढी पुगेको टोली परिक्षणका लागि क्वारेन्टाईनतर्फ जादैछ।

सोमबार साँझ काठमाडौँबाट आएको तालिम प्राप्त टोली आवश्यक समाग्री सहित केही बेरमा धनगढीबाट कैलाली र कञ्चनपुरका स्थानीय तहका क्वारेन्टाईनतर्फ प्रस्थान गर्न लागेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

दुवै जिल्लाका लागि दुई समूहमा विभाजन गरिएको टोलीले आजदेखि नै  कोरोना भाईरसको  र्‍यापिड टेष्ट  गर्नेछ।

स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल निरीक्षक हेमराज जोशीले स्वास्थ्य कार्यालय कैलालीका ल्याब टेक्निसियन नारायण ढुङ्गानाको सहजीकरणमा खटिएको पाँचजनाको टोली गोदावरी नगरपालिकाको क्वारेन्टाईनमा रहेकाहरुको परिक्षण गरी कञ्चनपुर जानेछ भने टीकापुर अस्पतालका ल्याब टेक्निसियन मीनबहादुर कुँवरले सहजीकरण गर्ने अर्को पाँच जनाको टोलीले  गौरीगंगा नगरपालिका हुँदै टीकापुर नगरपालिका सम्म पुग्नेछ।

कञ्चनपुरका लागि खटिने टोलीमा रहेका ल्याब टेक्निसियन ढुङ्गानाले भने, ‘अहिले जनस्वास्थ्य कार्यालयमा छौँ,  र्‍यापिड टेष्टका लागि आवश्यक पर्ने उपकरण र समाग्री तयार गर्दैछौँ एकछिनमा धनगढीबाट हिड्दैछौँ।

गोदावरीमा परिक्षण गरेर कञ्चनपुर जाने तयारी छ।’ टीकापुर अस्पतालका ल्याब टेक्निसियन कुँवरले धनगढीबाट काठमाडौँबाट आएको टोली आउने तयारीमा रहेकाले आजदेखि नै परिक्षण थालिने जानकारी दिए।

उनले आफूले सहजीकरण गरिरहेको उक्त टोलीले गौरीगंगा नगरपालिका, लम्कीचुहा नगरपालिका, घोडाघोडी नगरपालिका, जोशीपुर गाउँपालिका, भजनी नगरपालिकाका क्वारेन्टाईनमा रहेकाहरुको नमुना परिक्षण गर्ने बताए।

 कैलाली र कञ्चनपुरमा चार जना कोरोना संक्रमित भेटिएपछि सरकारले  र्‍यापिड टेष्ट गर्ने निर्णय गरेको थियो।

सोही अनुसार लागि तालिम प्राप्त ६ सदस्यीय प्राविधिकको टोली सोमवार धनगढी आईपुगेको थियो। मन्त्रिपरिषद्को शनिबार बसेको बैठकले  र्‍यापिड डायग्नोस्टिक टेष्ट (आरडीटी) प्रविधिबाट कोरोनाको परीक्षण गर्ने तथा पोजेटिभ देखिएकाहरुलाई पीसीआर प्रविधिबाट परीक्षण गरेर यकिन गर्ने निर्णय गरेको थियो।

सुरुमा कैलालीमा दुबईबाट आएका ३१ वर्षीय युवकमा कोरोना भाईरस पोजेटिभ देखिएको थियो। पछिल्लो पटक युवककी भाउजुमा पनि कोरोना पोजेटिभ देखिएको छ।

छिमेकी भारतबाट फर्किएका कैलाली र कञ्चनपुरका थप दुई पुरुषमा पनि कोरोना भाईरसको संक्रमण पुष्टि भएपछि सुदूरपश्चिमलाई डेन्जर जोनमा राखिएको छ। र्‍यापिड टेष्ट क्वारेन्टाईनमा राखिएका सबैको गरिने दावी गरिएको छ।
  

कमेन्ट लोड गर्नुस