सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा साढे २३ सय जना क्वारेन्टाइनमा, १० आइसोलेसनमा

२०७६ चैत्र २४, ०६:२५ खबर संवाददाता

धनगढी: कोरोना भाइरस(कोभिड–१९) को डेन्जर जोनमा रहेको सुदूरपश्चिममा झण्डै साढे दुई हजार जनालाई क्वारेन्टाइनमा राखिएको दावी गरिएको छ। प्रदेश स्वास्थ्य आपतकालिन सञ्चालन केन्द्रले भारत तथा अन्य मलुकबाट फर्किएका दुई हजार तीन सय ६१ जनालाई क्वारेन्टाइनमा राखिएको जनाएको हो।

केन्द्रले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार बैतडीमा सबैभन्दा बढी पाँच सय एक जनालाई अनिवार्य क्वारेन्टाइनमा राखिएको छ। यस्तै कैलालीमा चार सय ५१ जना, कञ्चनपुरमा एक सय ७०, दार्चुलामा दुई सय ११, डडेल्धुरामा एक सय ४, डोटीमा चार सय २४, बझाङमा तीन सय २७, अछाममा ५६ र बाजुरामा एक सय १७ जनालाई क्वारेन्टाइनमा राखिएको केन्द्रको तथ्याङ्कमा उल्लेख गरिएको छ। प्रदेशभरी स्थानीय तह, प्रदेश सरकार र नेपाली सेनाले पाँच हजार ४२ शैयाका क्वारेन्टाइन स्थापना गरेका छन्। 

यस्तै आपतकालिन केन्द्रले अहिले १० जनाको विभिन्न अस्पतालमा स्थापना गरिएका आइसोलेसनमा उपचार भइरहेको जनाएको छ। ६ जनाको सेती प्रादेशिक अस्पताल, दुई जनाको डडेल्धुरा अस्पताल, डोटी र बाजुरा अस्पतालमा एक/एक जनाको उपचार भइरहेको केन्द्रले जनाएको छ। प्रदेशभर अहिलेसम्म ४६ जना आइसोलेसनबाट डिस्चार्ज भएका छन्। 

 

 

कमेन्ट लोड गर्नुस