सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरा सदरमुकाम रहेको वडामा 'टोकन प्रणाली’मार्फत राहत वितरण गरिँदै

२०७६ चैत्र २४, ०४:३५ खबर संवाददाता

डडेल्धुरा: डडेल्धुराको अमरगढी नगरपालिकाले ‘टोकन प्रणाली’मार्फत राहत वितरण सुरु गरेको छ। जिल्ला सदरमुकाम रहेको वडा नम्बर ५ ले विपन्न व्यक्तिहरुको तथ्यांक संकलन गरेपश्चात राहत वितरण सुरु गरेको हो। 

वडा कार्यालयले अध्यक्षको हस्ताक्षर गरिएको टोकनमा राहत पाउने व्यक्तिले पाउने सामग्रीहरु १५ किलो चामल, २ किलो दाल, १ पोका तेल, १ पोका नुन र २ पिस साबुन उल्लेखगरि पसलमा पठाइने व्यवस्था गरिएको छ।

खाद्यान्न सामाग्री बिक्री गर्ने पसलहरूसंग सम्झौतागरि वडा कार्यालयले सबैको पायक पर्ने पसलका नाममा टोकन उपलब्ध गराएर राहत वितरणको नयाँ अभ्यास सुरु गरेको हो। वडामा हरेक स्थानमा पसल रहेकाले कसैलाई पनि असहज नहुने वडा अध्यक्ष खेमराज पाठकले बताए। वडामा रहेका करिब १ सय ५० जना दैनिक ज्याला मजदुरी गर्ने परिवारलाई राहत वितरण गरिएको उनले बताए।

पसलहरुमा भीडभाड नहोस् भन्नका लागि सबै क्षेत्रका पसलहरुका नाममा टोकन बनाइएको र थोरै मात्रामा मात्रै मान्छेहरुलाई पठाइने व्यवस्था गरेको वडा कार्यालयले जनाएको छ।

व्यवस्थित रुपमा राहत प्राप्त गरेपछि स्थानीय भने निकै खुसी भएका छन्। राहत वितरण गरिने सम्पूर्ण पसलहरूमा समेत सामाजिक दूरी कायमगरि राहत सामग्री हस्तान्तरण गर्ने व्यवस्था मिलाइएको छ।
 

कमेन्ट लोड गर्नुस