सुदूर नेपाललाई विश्वसँग जोड्दै

गौरीफन्टाबाट कोरोना संक्रमितसँगै आएका थिए धनगढीका २२ जना

२०७६ चैत्र २२, ०४:२४ खबर संवाददाता

धनगढी: कैलालीको लम्कीमा भेटिएका कोरोना संक्रमित २१ वर्षीय युवक सरकारले लकडाउन घोषणा गरेपछि भारतबाट फर्किएको थिए। चैत ११ गते नेपाल प्रवेश गर्नुपर्ने माग गर्दै गौरीफन्टामा नाराबाजीमा उत्रिएको भीडमा उनी पनि सहभागी रहेको पाइएको प्रहरीले जनाएको छ। 

उनीसँगै गौरीफन्टामा नाकामा रहेका ९ सय ९९ जनाले नेपाल आउन पाउनुपर्ने माग गर्दै प्रर्दशन गरेका थिए। त्यसपछि मन्त्रीपरिषद् बैठकको निर्णयपश्चात सीमामा रोकिएका ९ सय ९९ जनालाई प्रहरीले २१ वटा बसमार्फत गन्तव्य पठाएको थियो।

ती ९ सय ९९ जना मध्ये २२ जना धनगढीका पनि रहेका थिए। सम्बन्धीत स्थानीय तहले उनीहरुका लागि क्वारेन्टाइन व्यवस्थापन गरी १४ दिन अनिवार्य राख्नुपर्ने निर्देशन आएको भएपनि ती २२ जना घरमै रहेको पाइएको छ। 

गौरीफन्टा नाकाबाट धनगढी प्रवेश गरी सोझै घर पुगेका उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र ती सबैमा कोरोनाको लक्षण नदेखिएको धनगढी उपमहानगरपालिकाको स्वास्थ्य शखा उपसंयोजक लक्ष्मीराज उपाध्यायले बताए। 
‘हामी वडासँग समन्वय गरेर घरमै ती २२ जनाको नियमित निगरानी गरिरहेका छौ’ उनले भने, ‘हालसम्म कारोनाको कुनै लक्षण देखिएको छैन।’

शनिबार मात्रै सुदूरपश्चिमका थप तीनजनाका कोरोना संक्रमण देखिएको छ। धनगढीका पहिलो संक्रमित युवाकी ३४ वर्षीय भाउजु, भारतको मुम्बईबाट फर्किएका कैलालीको लम्कीका २१ वर्षीय पुरुष र उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएको हो।

योसँगै सुदूरपश्चिमका कोरोना संक्रमितको संख्या ४ पुगेको छ। 

कमेन्ट लोड गर्नुस