सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली र कञ्चनपुरमा थप तीन जना कोरोना संक्रमित भेटिए

२०७६ चैत्र २२, ०१:१५

धनगढी: कैलाली र कञ्चनपुरका थप तीन जनामा कोरोना संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीन जनामा संक्रमण भएको पुष्टि गरेको हो। मन्त्रालयका अनुसार सातौँ संक्रमित धनगढीका चौथो संक्रमित ३४ वर्षीय युवाका आफन्त, आठौँ मुम्बैबाट फर्किएका २१ बर्षिय पुरुष र नवौँ उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ बर्षिय पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो।

पहिलो पटक नेपालमै बसेकामा पनि कोरोना भाइरसको संक्रमण देखिएको हो। आठौँ संक्रमित कैलालीका २१ वर्षीय ती युवक केही समयअघि भारतको मुम्बईबाट आएको खुलेको छ। क्वारेन्टाइनमा राखिएका उनमा शुक्रबार साँझ कोरोना पुष्टि भएको हो। त्यसैगरी नवौँ संक्रमण कञ्चनपुरका ४१ वर्षीय पुरुषमा देखिएको हो।

उनी रोजगारीका क्रममा भारतको उत्तराखण्ड थिए। नेपाल आएपछि क्वारेन्टाइनमा राखिएका उनमा पनि शुक्रबारै कोरोना पुष्टि भएको हो। तीनैजनामा कोरोना संक्रमण पुष्टि भएपछि धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचार थालिएको छ।

कोरोना संक्रमित तीनैजनाको स्वास्थ्य सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत मार्च १९ मा दुबईबाट भारतको नयाँदिल्ली हुँदै धनगढी आएका चौथो संक्रमित युवकबाट उनका आफुन्तलाई पनि कोरोना संक्रमण भएको हो। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या नौँ पुगेको छ। 

यसअघि चैत २० मा कोरोना भाइरस छैटौं संक्रमित भेटिएका थिए। कतार एयरवेजको जहाजबाट गत चैत ४ मा दोहाबाट काठमाडौं आएका यात्रुलाई कोरोना संक्रमण भएको पाइएको थियो। यी संक्रमित बागलुङकी ६५ वर्षीया महिला थिइन्। उनी पनि चैत ४ मा बेल्जियमबाट कतार हुदै नेपाल आएकी थिइन।

उनी कतारको दोहाबाट भने कतार एयरवेजको क्युआर ६५२ नम्बरको उडानबाट काठमाडौं आएकी थिइन्। योसँगै कतारको एकै उडानबाट आएका तीन यात्रुमा कोरोना संक्रमण देखिएको थियो। त्यसअघि फ्रान्सबाट दोहा हुँदै काठमाडौं आएकी १९ वर्षीया युवती र बेल्जियमबाट त्यही मार्गबाट काठमाडौं आएकी बागलुङकी २२ वर्षीया युवतीमा कोरोना पोजेटिभ पाइएको थियो। त्यसभन्दा पहिले दुबईबाट काठमाडौं हुँदै धनगढी पुगेका ३४ वर्षीय युवकलाई कोरोना देखिएको थियो।

कोरोना भाइरसबाट संक्रमित तेस्रो व्यक्ति दुबईबाट आएका भेटिएका थिए। दुबईबाट आएका धादिङ निवासी ३२ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको थियो। अहिले उनी टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत छन्।

सुरुमा चीनबाट आएका एक विद्यार्थीमा जनवरी २३ मा कोरोना संक्रमण देखिएको थियो। उनी उपचारपछि निको भइसकेका छन्। त्यसपछि ४ चैतमा फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी १९ वर्षीया युवतीमा कोरोना संक्रमण देखिएपछि भने सरकारले देशभर लकडाउनको घोषणा गरेको छ। 

​​​​​​

 

कमेन्ट लोड गर्नुस