धनगढीमा तीन घण्टा पसल सञ्चालन गर्न दिने निर्णयको चौतर्फी विरोध
धनगढी : ‘बिहान ६ बजेदेखि ९ बजे सम्म कोरोनाको सुत्ने समय हो र ?’ सामाजिक सञ्जाल फेसवुकमा शुक्रवारदेखि भाईरल भएको स्टाटस हो यो। यो स्टाटस अहिले धेरैका फेसवुक वालमा छ। धनगढी उप–महानगरपालिकालको आयोजनामा भएको बैठकपछि कैलाली उद्योग वाणिज्य संघले लकडाउनकाबीच धनगढी र आसपासका खाद्यान्न पसल तीन घण्टाको लागि सञ्चालन गर्न दिने निर्णय सहितको विज्ञप्ती जारी गरेपछि अहिले त्यस्को चातर्फी विरोध भईरहको छ।
सामाजिक सञ्जालमा धेरैले यस्लाई अपरिपक्क निर्णय भनेका छन्। सामाजिक कार्यमा सक्रिय मदन भट्टले लेखेका छन्, ‘धनगढीका बैज्ञानिकहरुले कोरोना सुत्ने र उठ्ने समय पत्ता लगाउनु भएकोमा धन्यवाद। बिहान ६ देखि ९ सम्म कोरोनाको सुत्ने समय थाहा पाएपछी धनगढीका नागरिकहरु बिन्दाससङ्ग मार्केटमा निस्किएको अवस्था छ।’
सरकारले लकडाउन र स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरकेको समयमा पनि बिहान र साँझको आवागमनलाई नियन्त्रण गर्न प्रहरीलाई सकस थियो। त्यसैमा स्थानीय सरकार र उद्योग वाािण्ज्य संघले निर्वाध रुपमा तीन घण्टा सम्म पसल सञ्चालन गर्न अनुमती दिएपछि सर्वसाधारणको आवागमन बढेको छ।
फेसवुकमै तपेन्द्र भुसालले लेखेका छन्, ‘बिहान ६ देखि ९ बजे सम्म कोरोना भाईरस कम सक्रिय हुन्छ भन्ने कतै प्रमाणित भएर हाम्रो कैलाली तिर यसो गरिएको त हैन्? कञ्चनपुर उद्योग बाणिज्य संघले राम्रो निर्णय गरेको छ। सकिन्छ भने यसो गर्दा कसो होला?’ उनले कञ्चनपुरमा घुम्ती पसल सञ्चालन भईरहेकाले त्यसैको सिको गर्न सुझाव दिएका हुन्।
यस्तै भवानी दत्त जोशीले लेखेका छन्, ‘उद्योग बाणिज्य संघ र सरोकारवालाहरुको अपरिपक्व निर्णय ! महेन्द्रनगरमा जस्तो घुम्ती पसल संचालन गर्ने जनशक्ति उद्योग वाणिज्य संघ र उप–महानगरपालिका तथा सरोकारवालाहरुसग नभएको हो वा इच्छाशक्तिको अभाव हो?’
यता कैलाली उद्योग वाणिज्य संघले भने बजारक्षेत्रमा सामान खरीदका नाममा दिनभरी भईरहने मान्छेको चहलपहल रोक्न बिहान तीन घण्टा मात्र पसल खोल्न दिने निर्णय गरिएको जनाएको छ।