बैतडीमा नरभक्षी चितुवा खोरमा फस्यो
बैतडीमा नरभंक्षी चितुवा खोरमा फसेको छ।
जिल्लाको तल्लोस्वराड मेलौली नगरपालिका वडा नम्बर ९ असुरमा विज्ञ टोलीले स्थानीय सामग्रीको सहयोगमा बनाएको खोरमा चितुवा फसेको डिभिजन वन कार्यालयका प्रमुख केशव पराजुलीले बताए।
उनका अनुसार मानवबस्तीमा पसेर क्षति पुर्याउँदै आएको नरभक्षी चितुवा खोरमा फसाउन बाख्राको पाठी राखिएको थियो। यही चैत १ गते राष्ट्रिय प्रकृति संरक्षण कोषका दुईजना विज्ञ असुरमा पुगेर खोर निर्माण गरेका थिए। चितुवाले मानवबस्तीमा क्षति पुर्याएको ठाउँमा फलामे र काठे खोर गरी तीनओटा खोर राखिएको थियो। राष्ट्रिय प्रकृति संरक्षण कोषका वरिष्ठ वन्यजन्तु प्राविधिक विष्णुबहादुर लामा र प्राविधिक रमेश दराईले मेलौली नगरपालिका–९ असुर गाउँमा पुगेर चितुवालाई नियन्त्रणमा लिनका लागि खोर राख्नुभएको थियो।
नरभक्षी चितुवा खोरमा फसेको बिषयमा राष्ट्रिय निकुञ्ज विभागमा जानकारी गराईसकेको र त्यहाँबाट विज्ञहरुको टोली आएपछि चितुवालाई बेहोस बनाएर स्थानान्तरण गरिने डिभिजन वन कार्यालयका प्रमुख पराजुलीले बताए। नरभक्षी चितुवाले तल्लोसोराड क्षेत्रमा २०६८ साल यता २५ जनाको ज्यान लिईसकेको छ।