सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूर पहाडका क्वारेन्टाईनमा बसेकाहरु भन्छन् – सरकारको व्यवस्थापन राम्रो छ

२०७६ चैत्र २०, ०२:५८ कमल सावद

संघिय सरकारले भारतबाट फर्किएकाहरुलाई गत चैत ११ गते नेपाल प्रवेशको अनुमति दियो। सीमा बन्द भएपनि स्थानीय तहहरुले उनीहरुलाई अनिवार्य क्वारेन्टाइनमा राख्ने सहमती पछि प्रवेश अनुमती दिइएको थियो। सुदूरपश्चिममा ठुलो संख्यामा नेपालीहरु स्वदेश फिर्ता भएपनि एक हजार सात सयलाई मात्र स्थानीय तहहरुले क्वारेन्टाइनमा राखेका छन्।

तर क्वारेन्टाईनमा बसेकाहरुले सबै सुविधा पाएको बताएका छन्। बाजुराको त्रिबेणी नगरपालिकाले स्थापना गरेको क्वारेन्टाइनमा बसेका तिलक बुढा क्षेत्रीले क्वारेन्टाइनमा बसेकाहरुलाई राम्रो सुविधा दिएको उनले बताए।

‘धनगढीबाट घरमा भेटघाटका लागि मोटरसाइकलमा आएको हुँ। बाजुरा पुगेपछि मात्र बस चढेकोे थिए। बसमा भारतबाट आएका एक जना पनि थिएनन्। तर क्वारेन्टाईनमा बस्न आग्रह गरियो। बसेका छाँै। सुविधामा कुनै कमि छैन्।’ बुढाले भने।

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा रहेका स्थानीय तहहरुले क्वारेन्टाइनमा राखेकाहरुलाई उपयुक्त सुविधा दिएको दावी गरिरहेका छन्। दैनिक आवश्यक पर्ने सामाग्रीको व्यवस्था स्थानीय तहले गरिएको क्वारेन्टाइनमा बसेकाहरुले बताएका हुन्।

प्रदेशका स्थानीय तहहरुले भारत तथा अन्य ठाउँबाट आएकाहरुलाई क्वारेन्टाइनमा राखेका छन्। प्रदेश र संघीय सरकारले समेत क्वारेन्टाइनमा राखेकाहरुको व्यवस्थापनको जिम्मा पनि स्थानीय तहलाई दिईएको छ।

क्वारेन्टाइनमा राखेकाहरुका लागि सम्पुर्ण सुविधा तर कोरोना परिक्षण नहुँदा चिन्ता लागेको डोटीको बोगटान–फुडसिल गाउँपालिकाले स्थापना गरेको क्वारेन्टाइनमा बसेका पूर्ण साउँदले बताए।

उनले भने, ‘भारतबाट आएका तीन बालबालिका सहित १२ जना क्वारेन्टाइनमा बसेका छौँ। सामान्य चेकजाँत त भएको छ। तर कोरोनाको कुनै परिक्षण भने भएको छैन्। कोरोना संक्रमण भए÷नभएको कसरी थाहा हुन्छ।’ स्थानीय तहहरुले क्वारेन्टाइनमा राखेकाहरुलाई दैनिक खाना, बस्नका लागि बास, खाने पानी, साबुन तथा स्वास्थ्यकर्मीको व्यवस्था गरेको छ।

क्वारेन्टाईनमा राखिएकाहरुलाई छुट्टै  सुत्ने व्यवस्था पनि साउँदले बताए। कैलालीमा तीन सय ३७, कञ्चनपुरमा ५१, डडेल्धुरामा ३९, डोटीमा तीन सय ९८, अछाममा ६५, बाजुरामा ५८, दार्चुलामा एक सय ६८, बैतडीमा तीन सय १० र बझाङमा दुई सय ९८ गरि एक हजार सात सय ७ लाई क्वारेन्टाइनमा राखिएको छ।

स्थानीय तहको रकमबाट उनीहरुका लागि आवश्यक पर्ने खाद्य सामाग्री तथा लुगा कपडाको व्यवस्थापन स्थानीय तहहरुले गरेका बझाङको बुङ्गल नगरपालिकाका प्रमुख धनबहादुर विष्टले बताए। ‘खान÷पिन र सुत्नको रामै व्यवस्था गरेका छाँै।

तर कोरोना परिक्षणका लागि भने केही गर्न सकेका छैनौ। सामान्य स्वास्थ्य अवस्थाका बारेमा स्वास्थ्यकर्मीहरुले जानकारी लिइरहेका छन्।’ प्रमुख विष्टले भने।

सामान्य स्वास्थ्य परिक्षणको सुविधा भएपनि कोरोना भाइरस (कोभिट–१९) को परिक्षणको व्यवस्था पनि हुनुपर्ने माग क्वारेन्टाइनमा बसेकाहरुको छ।

 

 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस