सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा विपन्नलाई निःशुल्क खाद्यान्न

२०७६ चैत्र १९, ०७:३०

बैतडी: बैतडीमा अति विपन्न तथा दैनिक ज्याला मजदुरी गरी खाने परिवारलाई राहतस्वरूप बैतडीको दोगडाकेदार गाउँपालिका–४ को कार्यालयले निःशुल्क खाद्यान्न वितरण गरेको छ। लकडाउनले मजदुरी गर्न नपाएपछि छाक टार्नै मुस्किल परेका वडाभित्रका ४४ परिवारलाई  मङ्गलवार खाद्यान्न वितरण गरिएको हो। 

उनीहरु सबैलाई गरेर १० क्विन्टल ८० किलो चामल  वितरण गरिएको हो। कोभिड–१९ को सतर्कतास्वरूप सरकारले गरेको लकडाउनका कारण दैनिक मजदुरी गरी खानेहरुलाई छाक टार्न समस्या भएपछि खाद्यान्न वितरण गरिएको वडाअध्यक्ष सुरेन्द्रप्रसाद भट्टले बताए। कम्तीमा १५ दिन पुग्ने गरी परिवार सङ्ख्याका आधारमा चामल वितरण गरिएको उनले बताए। यस्तै आज पनि वडामा बाँकी रहेका विपन्न परिवारलाई खाद्यान्न वितरण गर्ने उनले बताए।  

यस्तै  डिलाशैनी गाउँपालिका–५ मा भारतबाट आएका छ जनालाई गाउँपालिकाले निर्माण गरेको क्वारेनटाइनमा राखिएको छ। अन्य तीन जना होम क्वारेन्टाइनमा बसेको वडा सदस्य जयदेव जोशीले जानकारी दिए।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि वडा नं ५ को जनचेतना आधारभूत विद्यालयमा क्वारेन्टाइन निर्माण गरिएको उनले बताए। क्वारेन्टाइनमा बस्ने नागरिकका लागि खान र बस्न उचित व्यवस्था मिलाइएको छ।

विपन्नको  तथ्याङ्क सङ्कलन शुरु
दशरथचन्द नगरपालिकाले दैनिक मजदुरी गरेर छाक टार्ने परिवारको तथ्याङ्क सङ्कलन गर्ने कार्य शुरु गरेको छ। कोरोना भाइरसको जोखिम बढेको भन्दै लकडाउन भएपछि मजदुरी गरेर खाने वर्गलाई समस्या परेकाले उनीहरुलाई खाद्यान्न उपलब्ध गराउने उद्देश्यले तथ्याङ्क सङ्कलन कार्य मङ्गरबारदेखि शुरु भएको नगर उपप्रमुख मीना चन्दले जानकारी दिए। 

चैत २० गतेसम्म ११ ओटै वडामा दैनिक मजदुरी गरेर खाने वर्गको तथ्याङ्क सङ्कलन गरिसकिनेछ। उनले भने,  “तथ्याङ्क सङ्कलनपश्चात मजदुरी गरेर खाने परिवारलाई खाद्यान्न वितरण गर्छौँ, चार जनासम्म सदस्य भएको परिवारलाई १० केजी र सोभन्दा बढीसदस्य भएको परिवारलाई १५ केजीका दरले चामल वितरण गरिनेछ।” –विनोदसिँह विष्ट/रासस

कमेन्ट लोड गर्नुस