बैतडीमा वडा अध्यक्ष र स्वास्थ्यकर्मीलाई कुटपिट गर्नेविरुद्ध मुद्दा
बैतडी: बैतडीको पुर्चौडीमा वडाअध्यक्ष र स्वास्थ्यकर्मीलाई कुटपिट गर्ने दुईजनाविरुद्ध मुद्दा दर्ता भएको छ। पुर्चौडी नगरपालिका–७ का धर्मानन्द बडु र वडा नं ५ का नरेन्द्र जागरीविरुद्ध जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता भएको हो।
दुवैलाई अभद्र व्यवहारको मुद्दा दर्ता गर्नुका साथै पाँच दिन म्याद थप गरी अनुसन्धान भइरहेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए। बडुले आइतबार वडा नं ७ का वडाअध्यक्ष रामबहादुर ऐरमाथि कुटपिट गरेका थिए। नागरीलाई कुवाकोट स्वास्थ्य चौकीका अहेब करनसिंह धामीलाई हातपात गरेको आरोप लागेको छ।
नगरपालिकाले स्थापना गरेको क्वारेन्टाइनमा मदिरा सेवन गरी होहल्ला गरिरहेका बेला बडुलाई सम्झाउन खोज्दा आइतबार वडाअध्यक्ष ऐर कुटिएका थिए। यस्तै चैत १२ गते क्वारेनटाइनमै खटिएका अहेब धामीमाथि आफ्ना परिवारका सदस्यलाई क्वारेन्टाइनमा किन राखेको भनी मदिरा सेवन गरी नागरीले कुटपिट गरेको प्रहरीले जनाएको छ। –विनोदसिँह विष्ट/रासस